हेटौंडामा ३३ अर्बको स्मार्ट सिटी



काठमाडौं । सरकारले हेटौंडामा स्मार्ट सिटी निर्माण गर्ने योजना बनाएको छ । करिब ३३ अर्ब लगानीमा गरी हेटौंडामा निर्माण गर्न लागिएको स्मार्ट सिटी सरकारले लगानी बोर्ड मार्फत् सार्वजनिक गरेको छ ।

लगानी बोर्डमार्फत् सार्वजनिक गरिएको सो आयोजनामा विदेशी लगानीकर्ताले समेत लगानी गर्न पाउने छन् । सहरी योजना अन्र्तगत सो आयोजना निर्माण गरिएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार प्रदेश ३ स्थित हेटौंडाको मद्यमापोखरी स्मार्ट सिटी निर्माण गरिने छ । स्मार्ट सिटीमा स्मार्ट भौतिक संरचनाका साथै स्मार्ट भवन हुनुपर्ने जनाएको छ । यस्तै सिटीमा सामाजिक वातावरण तथा गतिशिलता हुनुपर्ने मापदण्ड तय गरिएको छ ।

सिटीको विशेषता भने साँस्कृतिक गाउँको झल्को दिने हुनुपर्नेछ । यस्तै स्मार्ट सिटीमा खुल्ला चौर तथा खेल मैदानको व्यवस्था हुनुपर्छ ।

निजी सार्वजनिक साझेदारी (पिपिपि) मोडलमा आधारित हुने जनाइएको छ । सरकारले स्मार्ट सिटीको लागि आवश्यक जमिन, पूर्वाधार तथा सुरक्षा प्रदान गर्ने जनाइएको छ । निजी क्षेत्रले भने सिटीका लागि आवश्यक योजना, भवनहरुको डिजाइन तथा आर्थिक पक्ष उपलब्ध गराउनुपर्ने बोर्डले जनाएको छ ।

सिटी रियायत अवधि पछि सरकारलाई हस्तान्तरण गर्नपर्नेछ । रियायत अवधि भने ३० वर्षको रहेको छ । बोर्डका अनुसार सिटीको निर्माणअवधि भने ७ वर्षको हुनेछ । सबैखाले आय भएका मानिसहरु बस्ने गरी सिटी निर्माण गरिनेछ ।

सिटीमा अनौपचारिक सम्मेलन केन्द्र तथा प्रदर्शनी केन्द्र समेत हुनेछ । यस्तै स्वदेशी तथा विदेशी पर्यटकका लागि सिटी भित्र होटेल, रेष्टुरेन्ट र रिसोर्ट हुनेछन् ।

सामाजिक पूर्वाधारको व्यवस्था सहित आधुनिक अस्पताल, विद्यालय तथा वृद्धवद्धाहरुको लागि उपयोगी स्थलहरु समेत हुनुपर्नेछ । आधुनिकता तथा आधुनिक शहर अनुरुप सञ्चालन हुने आधुनिक बस पार्क र बिजुलीका साधनहरु तथा चार्जङि स्थानहरु समेत हुनुपर्नेछ । सिटीमा प्राप्त फोहरलाई प्रविधिको प्रयोग गरी व्यवस्थापन गरिनेछ भने स्वच्छ पानीको समेत उपलब्धता गराउनुपर्ने छ ।


पुष्प दुलाल