कर अधिकृतलाई १ करोड ८२ लाख भ्रष्टाचारको मुद्दा



काठमाडौं । भैरहवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत मानप्रसाद विकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ करोड ८२ लाख ६७ हजार ७७९ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ ।

अहिले करदाता सेवा कार्यालय पाँचथर फिदिममा कार्यरत कर अधिकृत विकले राष्ट्रसेवक भएपछि पदीय दुरुपयोग गरी गैर कानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै आयोगले आरोप पत्र दायर गरेको आयोगले जनाएको छ ।

विक २०६८ असोज २२ गते सरकारको राजपत्रांकित तृतीय श्रेणीको अधिकृतमा नियुक्ति भएका थिए । उनले त्यसअघि २०६६ चैत १० देखि २०६८ असोज २१ गतेसम्म राहत कोटामा श्रीकृष्ण मावि रोल्पामा शिक्षकको रुपमा काम गरेका थिए । उनले त्यहाँ कार्यरत रहँदादेखि २०७५ मंसिर मसान्तसम्मको अवधिमा १ करोड २७ लाख ६६ हजार ९४५ रुपैयाँ आर्जन गरेका छन् ।

उक्त रकम आर्जन गरेका विकले तलब भत्ता¸ प्रोत्साहन भत्ता¸ श्रीमती आइतमाली विक को पारिश्रमिक आय¸ जग्गा बिक्री¸ व्यवसाय आय एवं कर्जा लगायत रहेको आयोगले जनाएको छ ।

यो अवधिमा जग्गा खरिद¸ घर निर्माण¸ सवारी साधन खरिद¸ व्यवसायहरुमा लगानी¸ शैक्षिक खर्च¸ कर्जा चुक्ता एवं विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा मौज्दातमा तीन करोड १० लाख ३४ हजार ७२४ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको छ । उनको वैध आय १ करोड २७ लाख ६६ हजार ९४५ रुपैयाँ मात्र रहेको र १ करोड ८२ लाख ६७ हजार ७७९ रुपैयाँको स्रोत नखुलेको आयोगले जनाएको छ ।

उक्त रकम विकले राष्ट्रसेवक भएपछि के कस्तो श्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने कुराको पुष्टि गर्न नसके आयोगले जनाएको छ । उनले सम्पति आर्जन गरेको वैधानिक बाटो नदेखिएपछि भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको आयोगले जनाएको छ ।

आयोगले विकलाई १ करोड ८२ लाख ६७ हजार ७७९ रुपैयाँ विगो दाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम जरिवाना र कैद सजायको साथै निजले श्रोत पुष्टि गर्न नसकेको एवं गैरकानूनी रुपमा आर्जन गरेको उक्त सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम जफत गर्न विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।

आरोप पत्र दायर गरेको छ । विकले पदको दुरुपयोग गरी गैर कानूनी रूपमा आर्जन गरेको सम्पत्ति उनको श्रीमती आइतमाली विकको नाममा जग्गा खरिद र विभिन्न बैंक तथा वित्तीय संस्थामा राखेको र पाइएको छ । आयोगले विकको श्रीमती आइतमाली विकलाई समेत विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ ।


क्लिकमान्डु