जनताको जलविद्युतको सेयरमा प्रधानमन्त्रीले १० हजार र उर्जामन्त्रीले १ हजार कित्ता आवेदन दिए



काठमाडौं । सरकारले अभियानको रुपमा अगाडि बढाएको जनताको जलविद्युत्को साधारण सेयर आजदेखि बिक्री शुरु भएको छ । सेयर खरीदका लागि भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नै ग्लोबल आइएमइ क्यापिटल लिमिटेड र नेपाल डिपी लिमिटेडमा दुई वटा डिम्याट खाता खोलेका छन् ।

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले समेत बुधबार नै डिम्याट खाता खोलेका छन् ।

नुवाकोट र रसुवाको सीमानामा निर्माण भइरहेको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री बी जलविद्युत् आयोजनाको सेयर बिक्री सुरु भएको हो ।

सेयर खुलेको शुरुमै प्रधानमन्त्री ओलीले १० हजार कित्ता र उर्जामन्त्री पुनले १ हजार कित्ताका लागि आवेदन दिएको उर्जामन्त्रालयका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए ।

शुरुमा आवेदन गर्दा १० प्रतिशत मात्रै लगानी गरे हुने व्यवस्था गरिएको छ । एक सय रुपैयाँको सेयरमा हाल १० रुपैयाँ मात्रै लगानी गरे हुने व्यवस्था गरिएको छ । बाँकी रकम भने आयोजनाको भौतिक निर्माण ७५ प्रतिशत सकिएपछि गर्ने व्यवस्था मिलाइएको छ ।

जनताको जलविद्युत् कार्याक्रममा अनुसार सबै मन्त्री, सचिव र सरकारी कर्मचारीले समेत सेयरमा लगानी गर्ने गरी व्यवस्था मिलाइएको छ । आयोजनामा १० हजार रुपैयाँ बराबरदेखि १ लाख रुपैयाँसम्मको आवेदन गर्ने गरी व्यवस्था मिलाइएको छ ।

सरकारले गत फागुन २ गते विभिन्न १९ वटा आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा सूचीकृत गरेको छ । ती आयोजनाको क्षमता ३ हजार ५०० मेगावाट रहेको छ । सेयर प्रमाणपत्र नपाउञ्जेलसम्म लगानी गरेको रकमको व्याज समेत दिने गरी व्यवस्था मिलाइएको छ ।

सो आयोजनाको कूल जारी पूँजीको २ अर्ब ४७ करोडको १५ प्रतिशतलेृ हुने ३७ करोड ५ लाख बराबरको १०० रुपैयाँ अंकित दरका ३७ लाख ५ हजार कित्ता सेयर बिक्री गर्ने भएको छ ।

आयोजनामा सर्वसाधारणका लागि ४९ प्रतिशत र सरकारी निकायको ५१ प्रतिशत सेयर संरचना रहनेछ ।


पुष्प दुलाल