काठमाडौंपछि शेयर बजारको हब बन्यो बुटवल, लगानीकर्ता उत्साहित



बुटवल । केही दिन शेयर बजार उकालो लागेपछि प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा लगानीकर्ता उत्साहित देखिएका छन् ।

बुटवलमा रहेका लगानीकर्ताले शेयर बजार ‘बुलिस साइकल’ तर्फ अग्रसर भएको आँकलन गर्दै अझै पनि बजारले स्पष्ट मार्ग समात्न नसकेको बताएका छन् ।

उनीहरुले सानो सानो लगानी गरेर बजारबाट लाभ लिन आग्रह गर्दै यस्तो बेलामा संयमतापूर्वक लगानी गर्न आवश्यक भएकामा जोड दिएका छन् ।

‘करीब पाँच महीनादेखि शेयर बजार ‘स्टेट प्रियड’ मा छ, बजार घट्ने वा बढ्ने भइरहन्छ तर आत्तिहाल्नुपर्ने अवस्था हुँदैन’, नेपाल इन्भेष्टमेण्ट कम्पनीका अध्यक्ष कमल तिवारीले भने ।

उनले शेयर बजारको ‘वियरिस चरण’ र ‘स्टेट लाइन’ दुवै अन्त्य भएको उल्लेख गर्दै शेयर बजारको आफ्नै साइकिलिङ हुने बताए । लामो समयदेखि शेयर बजारमा लगानी गरिरहनुभएका अध्यक्ष तिवारीले शेयर बजारमा लगानी गर्दा हल्लाका भरमा मात्रै प्रवेश नगर्न अनुरोध गरे ।

शेयर बजारको ‘हब’ का रुपमा स्थापित बुटवलमा रहेका पाँच दलाल ९ब्रोकर० कार्यालयले शेयर खरीद तथा बिक्री गर्न दाङ, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पालगायतका लगानीकर्तालाई सेवा प्रदान गर्दै आएका छन् । यहाँका ब्रोकर कार्यालयमा झण्डै दैनिक रु एक करोड बढीको कारोवार हुने गरेको छ ।

एशियन सेक्युरिटिज प्रालि, २६ नं दलाल कार्यालयका पुष्पनिधि ढकालले कार्यालयमा सोचे जस्तो कारोवार नभएको उल्लेख गर्दै बजार हरियो हुँदा लगानी बढ्ने रातो हुँदा घट्ने अवस्था देखिएको बताए ।

‘बजार लगानीकर्ताको आत्मबलमा चल्छ आत्मबल दिगो र दरिलो नहुँदा पनि समस्या देखिएको छ’, उनले भने । पछिल्लो समय व्यवस्थापन सङ्कायका विद्यार्थी, गृहिणी, व्यापारी, व्यवसायी शिक्षक शेयर बजारमा आकर्षित भएका छन् ।

रुपन्देहीको सैनामैनाका विष्णु पन्थीले शेयर बजारले आकार लिन थालेको उल्लेख गर्दै बजारको अवस्था अझै निश्चित नभएको बताए । उनले बजारको वास्तविक गति पत्ता लगाउन अझै अध्ययन आवश्यक भएकोमा जोड दिँदै लगानी विस्तार गर्न आग्रह गरे । रासस


क्लिकमान्डु