मौलिक शासनतन्त्रमा विचलन आउँदा सभ्यता नै धरापमा



काठमाडौं । राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन सम्पन्न भएको छ । नेपालका मौलिक रैथाने धर्महरुलाई क्षति पुर्याउने गरी तिब्र गतिमा भइरहेको धर्म परिवर्तन विरुद्ध स्वक्रियात्मक साझा रणनीति बनाउँदै धार्मिक सहृदयता सम्मेलन सम्पन्न भएको हो । सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा सम्पन्न भएको हो ।

जरो किलो प्रतिष्ठानको आयोजनामा भएको यस सम्मेलनले नेपालको मौलिक शासन तन्त्रमा विचलन आएकाले भाषा, संस्कृति तथा शिक्षा लोप हुने स्थितिमा पुगी सभ्यता नै धरापमा परेको निष्कर्ष निकालेको छ । वैश्विक सञ्जालको आधारमा नेपालमा भइरहेको धर्म परिवर्तनलाई निर्मूल पार्न शासनतन्त्र, शिक्षातन्त्र र अर्थतन्त्रमा नेपालको मौलिक प्रतिमान स्थापना गर्न आवश्यक रहेको जोड दिइएको छ ।

धर्म परिवर्तनलाई प्रतिक्रियात्मक तरिकाले समाधान गर्न खोज्दा डिप्रेसनमा पुग्ने अवस्था देखा परेकाले स्वक्रियात्मक हुनुपर्ने जरो किलो महाअभियानका अध्यक्ष डा. निर्मलमणि अधिकारीले बताए । उनले भने ‘हामीलाई सिध्याउन आउनेले चाल चल्नु अघि नै हाम्रो रणनीति र कार्यनीति बनाउन स्वक्रियात्मक तयारी गर्नुपर्छ ।’ मौलिक धर्महरु हिन्दु बौद्ध, जैन, बोन र किरातको संरक्षण गर्न सक्रिय संस्थाहरु प्रतिस्पर्धी नभई ऐक्यवद्ध भएर विजयी भावका साथ अघि बढ्नुपर्ने डा. अधिकारीले बताए ।

सम्मेलनमा जरो किलो महाअभियानका संस्थापक उपाध्यक्ष डा. गोविन्द शरण उपाध्याय, राष्ट्रिय हिन्दु एकता मञ्चका इन्द्र प्रसाद ओली र विश्व हिन्दु महासंघ कास्कीका शंकर खरालले नेपालमा भईरहेको धर्म परिवर्तनका विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् ।

सम्मेलनमा बौद्ध, बोन र किरात धर्मगुरुहरु तथा झाक्री संघको उल्लेख्य उपस्थिति रहेको थियो । बौद्ध खेन्पो फुन्छोक दोर्जे लामा, बोन गुरु गेसे छुल्दिम लामा तथा धार्मिक अध्येता मोहन लामा रुम्बाले बोन धर्मले हिन्दु र बौद्ध धर्मलाई जोड्ने सिमेन्टको काम गर्ने बताउनु भएको छ । यस्तै, नेपाल झाक्री संघका अध्यक्ष शंकर कार्कीले १०० जना झाक्रीलाई इसाईहरुको चंगाई कार्यक्रममा सहभागी गराउन चुनौती दिए ।

यता, जरो किलो महाअभियान अन्तर्गत बन्ने राजनीतिक पार्टीले बनाउने संविधानको प्रस्तावनामै नेपाल हिन्दु, बौद्ध, किरात, जैन र बोनको साझा उद्गमस्थल भन्ने उल्लेख गरिने जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्तिका अध्यक्ष सुशिल गौतमले बताए ।


क्लिकमान्डु