आयात २६ प्रतिशत वृद्धि हुँदा निर्यात ११.५ प्रतिशत मात्रै बढ्यो



काठमाडौं । चालु आर्थिक वर्ष २०७५-७६ को सात महिनामा कुल वस्तु निर्यात ११.५ प्रतिशतले वृद्धि भएर ५३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.९ प्रतिशतले वृद्धि भएको थियो ।

यो अवधिमा भारततर्फ २१.१ प्रतिशत र अन्य मुलुकतर्फ १.४ प्रतिशतले निर्यात वृद्धि भएको छ । चीनतर्फ ३१.१ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा हेर्दा पोलिष्टर यार्न, जस्तापाता, दलहन, जडीबुटी, ऊनी गलैंचा, जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ । अलैची, छाला, रोजिन, जुत्ता तथा चप्पल, आयुर्वेदिक औषधी लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

सात महिनाको अवधिमा कुल वस्तु आयात २६ प्रतिशतले बढेर ८ खर्ब ३३ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १८.९ प्रतिशतले बढेको थियो ।

भारतबाट भएको आयात २४.८ प्रतिशत, चीनबाट भएको आयात ३६.६ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २३.२ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, एम.एस. बिलेट, हवाईजहाज तथा पार्टपुर्जा, तयारी पोशाक, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ ।

दुरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारी लगायतका वस्तुहरुको आयात घटेको छ । सात महिनामा वस्तु व्यापार घाटा २७.१ प्रतिशतले विस्तार भई ७ खर्ब ८० अर्ब १९ करोड पुगेको छ । यो अवधिमा निर्यात–आयात अनुपात ६.४ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ७.२ प्रतिशत रहेको थियो ।


क्लिकमान्डु