विमान चालक पाएपछि निगमको वाइ–१२ विमानको पुनःउडान शुरु



काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइ–१२ विमानले पुनः उडान शुरु गरेको छ । विमानचालक अभावले डेढमहीनादेखि थन्केर बसेकोे उक्त विमानले आज काठमाडौँ–दाङ दोहोरो उडान भरेको हो ।

बिरामी बिदामा बस्नुभएका पाइलट निपेन्द्र भट्टराई पुनःकाममा फर्किएपछि उक्त विमानले उडान भर्न शुरु गरेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए ।

निगमले वाइ–१२ विमानकै अर्का पाइलट उद्धव घिमिरेलाई ए–३२० को प्रशिक्षणमा पठाएको विरोधमा दुई पाइलट गत माघ २९ गते बाट बिरामी बिदामा बसेका कारण निगमका तीन विमान ग्राउण्डेड भएको बताइन्छ ।

आन्तरिक विवादका कारण लामो समयदेखि बिरामी बिदामा बस्नुभएका दुई पाइलट भट्टराई र सञ्जय बादे फागुन १३ र १६ गते नै काममा फर्किनुभएको थियो । उहाँहरू २० दिनभन्दा बढी बिदामा बस्नुभएका कारण विमान उडाउनुभन्दा पहिले स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले उडान भर्न पाएका थिएनन ।

यसअघि ‘पाइलट प्रोफिसियन्सी चेकको म्याद सकिएकाले नविकरणका लागि पाइलट आङनुरी शेर्पाको पीपीसी चीन जाने भएका छन ।

प्रशिक्षक पाइलटसमेत रहेका शेर्पाको पीपीसी नवीकरण नहुँदा नयाँ थप गरिएका दुई पाइलट पनि कामविहीन भएका छन । निगमका सहायक प्रवक्ता कोइरालाका अनुसार शेर्पा एक सातापछि पीपीसी नवीकरणका लागि चीन जादै छन । उनी फर्किएपछि नयाँलाई तालीम दिने योजना बनाइएको थियो । डेढमहीनाको अवधिमा पाँच क्याप्टेन तयार भई वाई–१२ सबै विमानसञ्चालनमा ल्याइने योजना छ ।निगमसँग वाइ–१२ चिनियाँ कम्पनीका चार विमान रहेकामा एक प्राविधिक परीक्षणमा छ भने बाँकी तीन विमानमा पाइलटको वैकल्पिक व्यवस्था गरेर भए पनि उडान भर्ने बताइएको छ ।


क्लिकमान्डु