राजश्व संकलन २२.१%ले वृद्धि, सरकारी खातामा १ खर्ब ७९ अर्ब मौज्दात



काठमाडौं । चालु आर्थिक वर्ष २०७५-७६ को सात महिना सम्ममा सरकारका विभिन्न खातामा १ खर्ब ७९ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । उक्त रकममध्ये स्थानीय तहको खातामा ५० अर्ब ५२ करोड नगद मौज्दात रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार सात महिनामा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति ५७ अर्ब ७४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति २६ अर्ब ४७ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । सरकारी खर्च तथा राजश्व समीक्षा अवधिमा बैंकिङ्ग कारोबारमा आधारित संघीय सरकारको कुल खर्च ४ खर्ब १५ अर्ब ५१ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा कुल सरकारी खर्च ४ खर्ब २८ अर्ब ८८ करोड रहेको थियो । समीक्षा अवधिमा संघीय सरकारले संकलन गरेको राजस्व (प्रदेश तथा स्थानीय तहमा बाँडफाँड हुने रकम समेत) २२.१ प्रतिशतले वृद्धि भई ४ खर्ब ६५ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारको कुल राजस्व १९.५ प्रतिशतले वृद्धि भई ३ खर्ब ८१ अर्ब ३४ करोड पुगेको थियो ।


क्लिकमान्डु