माछापुच्छ्रे बैंकले ३ अर्बको ऋणपत्र ल्याउँदै, ब्याज १०.२५ प्रतिशत



काठमाडौं । माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । ऋणपत्र निष्काशनको अनुमति माग्दै बैंकले राष्ट्र बैंकमा आवेदन दिएको दिएको छ ।

‘माछापुच्छ्रे बैंकले ३ अर्बको ऋणपत्र निष्काशनका लागि अनुमति माग्दै आवेदन दिएको छ,’ राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले क्लिकमाण्डूसँग भने, ‘हामी केहीदिन भित्रै अनुमति दिन्छौं ।’

वार्षिक १०.२५ प्रतिशत ब्याजदर दिनेगरी ऋणपत्र निष्काशन गर्न लागिएको बैंकका डेपुटी सीइओ सन्तोष कोइरालाले जानकारी दिए । ऋणपत्रको अवधि १० वर्षको हुनेछ ।

राष्ट्र बैंकले अनुमति दिएपछि धितोपत्र बोर्डमा अनुमति माग्दै आवेदन दिने र बोर्डले पनि अनुमति दिएपछि छिट्टै ऋणपत्र निष्काशन गर्ने डेपुटी सीइओ कोइरालाले जानकारी दिए ।

‘बैशाखभित्रै ऋणपत्र निष्काशन गर्ने हाम्रो तयारी छ,’ उनले भने ।

बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अभाव भएपछि बैंकहरुले ऋणपत्र जारी गरेर पुँजी संकलन गर्ने विधि अपनाएका छन् । बण्ड दीर्घकालीनरुपमा स्रोत जुटाउने उपाय हो ।


पुष्प दुलाल