पेनड्राइभसँग किन डरायो राष्ट्र बैंक ?



काठमाडौं । नेपाल राष्ट्र बैंक पेनड्राइभसँग डराएको छ । पेनड्राइभको प्रयोगले समस्या हुन सक्ने भन्दै राष्ट्र बैंकको सूचना प्रविधि विभागले राष्ट्र बैंकका सबै कम्युटरमा पेनड्राइभ नचल्ने बनाएको छ ।

‘राष्ट्र बैंकका कुनैपनि कम्युटरमा पेनड्राइभ चल्दैनन्,’ प्रवक्ता नारायण पौडेलले भने, ‘पेनड्राइभको प्रयोगका कारण भाइरस सर्न सक्ने र त्यस्तो भाइरसले राष्ट्र बैंकको सिस्टममै समस्या ल्याउने भन्दै पेनड्राइभको प्रयोगलाई प्रतिवन्ध लगाइएको हो ।’

राष्ट्र बैंकले यो व्यवस्था गरेको एक महिनाजति भयो । तर, पेनड्राइभको प्रयोग गर्न नपाउँदा आफूलाई समस्या परेपछि आइटी विभागमा खबर गरेर आफूले भने चलाउने गरेको प्रवक्ता पौडेलले सुनाए ।

पेनड्राइभको प्रयोगका कारण कर्मचारीहरुको कम्युटरमा भएको फाइल सहजै बाहिर जानसक्ने खतरा रोक्नका लागि पनि व्यवस्थापनले यस्तो गरेको कर्मचारीहरु बताउँछन् ।

‘पेनड्राइभको प्रयोग गर्दा त्यहाँबाट भाइरस आउनसक्ने र राष्ट्र बैंकको सिस्टम ह्याक हुनसक्ने खतरा टार्न यस्तो गरिएको हो,’ पौडेलले भने ।


पुष्प दुलाल