ब्याजदरको विषयमा पहिलोपटक बैंकर्स संघ र उद्योग वाणिज्य महासंघबीच वार्ता



काठमाडौं । प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरलाई भेटेर व्याजदर घटाउन दबाब दिएका व्यवसायीहरुले अब भने बैंकहरुसँगै छलफल गर्ने भएका छन् । सोमबार दिउसो २ बजे नेपाल उद्योग वाणिजय महासंघ र बैंकर्स संघबीच ब्याजदर र सेवा शुल्क घटाउने विषयमा छलफल हुने भएको छ ।

बैंकको ब्याजदर चर्को भएको भन्दै घटाउनु पर्ने माग राखी आन्दोलनमा उत्रिएपछि ब्याजदर घटाउने विषयमा पहिलोपटक बैंकर र उद्योग वाणिज्य महासंघबीच छलफल हुन लागेको हो ।

‘बैंकको ब्याजदर र सेवाशुल्क कसरी घटाउन सकिन्छ आज दिउसो २ बजे बैंकर्स संघ र महासंघबीच छलफलको आयोजना गरेका छौं,’ महासंघकी अध्यक्ष भवानी राणाले क्लिकमाण्डूसँग भनिन् । छलफलमा डकुमेन्टेशनको झन्झटदेखि स्प्रेड घटाउनेसम्मका विषयमा छलफल हुने राणाले जानकारी दिइन् ।

ब्याजदर घटाउनका लागि शुरुमै प्रधानमन्त्रीकहाँ गएको भन्दै अर्थमन्त्रीले व्यवसायीहरु उल्टो बाटो हिँडेको टिप्पणी गरेका थिए । अर्थमन्त्री डा. युवराज खतिवडाले पटकपटक व्यवसायी र बैंकर मिलेर यो समस्याको समाधान गर्न आग्रह गर्दै आएका थिए ।

ब्यवसायी र बैंकर आपसमा नमिले मात्रै झगडा मिलाउनका लागि सरकारले हस्तक्षेप गर्ने अर्थमन्त्रीको भनाई थियो ।

‘तपाईंहरु ६ र १६ का आआफ्नै अतिबामा नबस्नुहोस् बीचमा आएर सहमति खोज्नुहोस्, तपाईंहरुले समस्याको समाधान गर्नुभएन भने सरकारले हस्तक्षेप गर्छ,’ उनले भने, ‘हामी हात्तिको जस्तो सुँड पसारेर तपाईंहरुलाई हस्तक्षेप गर्न आउने पक्षमा छैनौं ।’

व्यवसायीको दबाबकाबीच राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै स्प्रेडको गणनाविधि परिवर्तन गरेको छ । नयाँ गणनाविधि अनुसार बैंकहरुको औषतमा १ प्रतिशत ब्याज आम्दानी घट्छ । १ प्रतिशत ब्याज आम्दानी घट्दा बैंकहरुको कूल १८ अर्बले आम्दानी घट्ने देखिन्छ ।

ब्यवसायीको दबाबमा परेर राष्ट्र बैंकले बैंकहरुलाई मार्नेगरी नीति ल्याएको भन्दै बैंकका लगानीकर्ता र बैंकरहरुले उक्त नीतिप्रति असहमति जनाइसकेका छन् । बैंकर्स संघले औपचारिकरुपमै ६ बुँदे असहमतिपत्र राष्ट्र बैंकमा बुझाइसकेको छ ।

बैंकका लगानीकर्ता र बैंकरहरुले पनि ब्याजदर घटाउन सक्ने अवस्था नरहेको भन्दै लबिङलाई तीब्र पारेका छन् । उता व्यवसायीहरु ब्याज घटाउनका लागि आन्दोलन छाडेर लबिङ गरिरहेका छन् ।

प्रधानमन्त्री, अर्थमन्त्री, गभर्नरलगायतसँग वार्ता र लबिङ गरेका व्यवसायीहरुले अन्तत बैंकर्स संघसँग वार्ता गर्न लागेका हुन् । महासंघ अध्यक्ष भवानी राणाको पहलमा वार्ता हुने भएको हो ।

बैंकबाट ऋण नै नलिएका केही व्यवसायीहरुको महासंघको राजनीतिमा पक्कड जमाउने उद्देश्यले ब्याजदरको आन्दोलन शुरु भएको र त्यसमा महासंघ अध्यक्ष राणाले समर्थन गरेको भन्दै महासंघकै पादाधिकारीहरुले विरोध गर्दै आएका थिए ।

यस्तो विरोध आएपछि एउटा कमिटि बनाएर अध्ययन गर्ने अनि वार्ताद्वारा समस्याको समाधान गर्ने निष्कर्श महासंघ कार्यकारीणी बैठकले निकालेको थियो ।


पुष्प दुलाल