ब्यवसायी र बैंकरलाई अर्थमन्त्रीको चेतावनी- सरकारले हात्तिको जस्तो सुँड पसार्नु नपरोस्



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकर र व्यवसायीलाई एकआपसमा मिलेर नगए सरकारले हात्तिको जस्तो सुँड पसारेर हस्तक्षेप गर्ने बताएका छन् ।

बढ्दो ब्याजदर विवाद सहमतिमा मिलाएर अघि बढ्न सुझाब दिँदै अर्थमन्त्री खतिवडाले यस्तो बताए ।

‘बैंकर र उद्योगीबीच ब्याजदरको विषयमा झगडा भइरहेको अवस्थामा सँधैभरी सरकार टुलुटुल हेरेर बस्दैन,’ पूर्वाधार विकास बैंकको कारोबार शुभारम्भ गर्दै मन्त्री खतिवडाले भने, ‘बैंक पनि निजी क्षेत्रकै, उद्यमी पनि निजी क्षेत्रकै हुनुहुन्छ, सरकार सुँड पसार्दै हस्तक्षेप गर्ने मनसायमा छैन ।’

उद्योगी र व्यवसायीबीचको पाखुरा सुर्कासुर्की सरकारलाई मन नपरेको अर्थमन्त्रीले बताए । बैंकर र व्यवसायी एक अर्काका परिपूरक भएको भन्दै मन्त्री खतिवडाले मिलेर जानुको विकल्प नभएको बताए ।

‘तपाईंहरुको छाता संगठनहरु छन्, बसेर छलफल गर्नुहोस्, साझा निस्कर्ष निकाल्नुहोस्,’ उनले भने, ‘सरकारले जथाभावी हात फैलाउँदै आउने अवस्थाको ननिम्त्याउनुहोस् ।’

कुनै ठाउँमा सरकारको हस्तक्षेप चाहिएको भए त्यो देखाइदिन पनि उनले आग्रह गरे ।

‘सरकारले कहाँ हस्तक्षेप गर्नुपर्ने हो, आएर भन्नुहोस्,’ उनले भने, ‘तपाईंहरुले झगडा गर्नुभयो भने मिलाउन हामीले हस्तक्षेप गर्नुपर्छ। त्यस्तो नगर्नुहोस्, दुवै अतिवादमा नजाऔं।’

मन्त्री खतिवडाले बैंकहरुले १६ प्रतिशत ब्याज खोज्ने र व्यवसायीले ६ प्रतिशत ब्याजमै ऋण खोज्ने प्रवृत्ति अतिवात भएको बताएका छन् ।

‘हामी दुबै अतिवादमा जानु हुँदैन, बीचमा बसेर समस्याको समाधान खोज्नुपर्छ,’ उनले भने ।


पुष्प दुलाल