राजकीय सम्मानका साथ पूर्वअर्थमन्त्री अधिकारीको अन्त्येष्टि



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित आर्यघाटमा नेता अधिकारीको पार्थिव शरीरमा उनका सुपुत्रीत्रय लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । यसअघि नेपाल सरकारका तर्फबाट उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेता अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए ।

नेता अधिकारीको पार्थिव शरीरमा उनकी धर्मपत्नी सविता, नेकपाका महासचिव विष्णु पौडेल, नेकपाका नेता जनार्दन शर्मा तथा नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा रामशरण महत, डा मीनेन्द्र रिजाललगायत नेता तथा कार्यकर्ताले श्रद्धाञ्जलि अर्पण गरेकाथिए ।

सोही अवसरमा सशस्त्र प्रहरी बलको एक टुकडीले उहाँप्रति सम्मान गारत अर्पण गरेको थियो । नेता अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो ।

नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी नेता अधिकारीको शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षका उमेरमा निधन भएको थियो । उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा राखिएको थियो । उनको पार्थिव शरीरमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतले पुष्पहार अर्पण गरी श्रद्धाञ्जलि दिनुभएको थिए ।


क्लिकमान्डु