राजा विरेन्द्रको सुझावपछि भरतमोहनले बृद्धभत्ता पाउने उमेर बढाए



काठमाडौं । नेपालको अर्थतन्त्रलाई परिवर्तन गराउने मध्येका एक पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ ।

गएराती ह्याम्स अस्पतालमा उपचारको क्रममा अधिकारीको निधन भएको थियो ।
२०५१ सालमा मध्यवधी निर्वाचन भयो । निर्वाचनमा पहिलो दल नेकपा एमाले बन्यो । बहुमत नआएपनि एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री बने । अर्थमन्त्री उनका भाई भरतमोहन अधिकारी ।

२०५१ सालमा सरकार बनेपछि भरतमोहनले बजेटको मध्यावधी समिक्षा मार्फत केही कार्यक्रमको घोषणा गरेका थिए । २०५२ सालको बजेटमा भरतमोहन बजेट बनाउने तयारीमा थिए । उनलाई बृद्धबृद्धालाई मासिक रुपमा भत्ता दिने निर्णय ल्याउने तयारी गरे ।

आफ्ना दाजु मनमोहनलाई उनले यसमा सहमत गराए । मासिक १०० रुपैयाँ ७० वर्ष उमेर पुगेका बृद्धबृद्धालाई भत्ता दिने दिने थियो । राज्यले दिने सामाजिक सुरक्षाको कार्यक्रममा यो एउटा ठूलो परिवर्तन थियो ।

२०५१ सालको निर्वाचन कांग्रेस भित्रैदेखि विभाजित भएर होमिएको थियो । त्यो बेला कांग्रेसका नेताहरुले कम्युनिष्ट सरकारमा आएपछि बृद्धबृद्धालाई मार्ने भनेर प्रचार गरेका थिए ।

कम्युनिष्टले बृद्धबृद्धालाई झन सम्मान गर्छ भन्ने सन्देश भरतमोहन बजेट मार्फत दिन चाहन्थे । त्यो बेला बजेट तयार भएपछि प्रस्तुत गर्नुभन्दा अगाडि राजालाई ब्रिफिङ गर्नुपर्ने व्यवस्था थियो ।
तत्कालिन प्रधानमन्त्री मनमोहनले भाई भरतमोहनलाई बजेट बिफ्रिङ गर्न दरवार लगे । दरवारमा उनले तत्कालिन राजा विरेन्द्रलाई बजेटको बिफ्रिङ गरे । राजाले ब्रिफिङ सुनेपछि भरतमोहनलाई गुड भन्दै भने,‘७० वर्षको उमेरलाई ७५ वर्ष गर।’

बहुदलिय व्यवस्था भएपनि धेरैवटा विषयमा राजाले दिएको सुझाव मान्नुपर्ने थियो । त्यसपछि बजेटमा ७५ वर्ष उमेर पुगेका बृद्धबृद्धालाई मासिक १०० रुपैयाँ भत्ता लिने व्यवस्था गरियो ।

यो व्यवस्थाको तत्कालिन नेपाली कांग्रेसले निकै विरोध समेत गर्यो । भरतमोहनले १०० रुपैयाँ बाट सुरु गरेको बृद्धभत्ता आज २००० पुगेको छ । अघिल्लो पटकको प्रतिनिधिसभाको निर्वाचनमा तत्कालिन एमाले र माओवादीले यसलाई ५ हजार पुर्याउने बताएका थिए । तर,बजेट ल्याउदा बृद्धभत्ता भने बढेन ।

२०६० सालमा भरतमोहनले नै यसलाई १७५ रुपैयाँ पुर्याएका थिए । २०६५ सालमा बाबुराम भट्टराईले ५०० र २०७१ सालमा डा रामशरण महतले ल्याएको बजेटमा १००० रुपैयाँ पुर्याए । भने बिष्णु पौडेलले मासिक २ हजार रुपैयाँ बृद्धभत्ता पुर्याए ।


क्लिकमान्डु