४१ वटा ठूला उद्योग स्थापना हुँदा एउटा उद्योगमा मात्रै शतप्रतिशत विदेशी लगानी

175
Shares

काठमाडौं । चालू आर्थिक वर्षको ७ महिनामा ४१ वटा ठूला उद्योगहरु उधोग विभागमा दर्ता भएका छन् । जसमध्ये एउटा उद्योगमा मात्र शतप्रतिशत विदेशी लगानी रहेको छ ।

अन्य दुईवटा ठूला उद्योगमा स्वदेशी र विदेशीको ५०/५० प्रतिशत लगानी छ । विभागका अनुसार कूल ३८ वटा ठूला उद्योगमा भने सम्पूर्ण लगानी नेपाली व्यवसायीकै रहेको छ ।

ठूला उधोगमा लगानी गर्नेमा भारतीय व्यवसायी नटराजप्रसाद भाइटलाम र श्रीदेवी नालामिली रहेका छन् ।

भारतीय नागरिकद्वय भाइटलाम र नालामिलीले ५० करोडको लगानीमा बालाजी हस्पीटालिटी कम्पनी विभागमा दर्ता गराएका छन् ।

काभ्रे पनौती नगरपालिका वडा नं ७ मा स्थापना हुने हस्पीटालिटीमा ४८ बेड तथा १६० जना क्षमता सहितको रेष्टुरेन्ट हुनेछ । हस्पीटालिटीमा ४५ जनाले रोजगारी प्राप्त गर्ने छन् ।

यस्तै स्वदेशी र विदेशीको ५०/५० प्रतिशत लगानी रहने उधोगमा भने नेपाली र भारतीय व्यवसायीहरु लगानीकर्ता रहेका छन् ।

भारतीय व्यवसायी श्रीकुमार चिल्लापान पिलाई,रुप ज्योति, सत्यम पाठक, क्रितान्जली भण्डारीको संयुक्त लगानीमा सुरिया डाइग्नोष्टिक प्रालि काठमाडौं महानगरपालिका वडा नं २ मा स्थापना हुने भएको छ ।

विभागका अनुसार डाइग्नोष्टिकको लगानी २४ करोड २० लाख रुपैयाँको हुनेछ । सो उद्योगबाट ४० जनाले रोजगारी पाउने छन् ।

भारतीय व्यवसायी दिनेश राज भारत, देवकान्त पोखरेल ,उदयनारायण देवकोटा तथा प्रकाश सुवेदीको संयुक्त लगानीमा उग्रतारा स्टील इण्डस्ट्रिज प्रालि कैललाीको घोडाघोडी वडा नं १० मा स्थापना हुने भएको छ । विभागका अनुसार स्टील कम्पनीको लगानी १ अर्ब २८ करोड रुपैयाँको लगानी हुनेछ भने ३२२ जनाले रोजगारी पाउने छन् ।

यस्तै उर्जा क्षेत्रमा ११ वटा उद्योग दर्ता भएका छन् । जसमा करिब ६९ अर्ब ३२ करोड ५१ लाख बराबरको लगानी प्रतिवद्धता आएको छ ।

विभागका अनुसार सिमेन्ट क्षेत्रमा ६ वटा उद्योग दर्ता भएका छन् । जसमा १९ अर्ब ६६ करोड ४५ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । विभागमा उर्जा, होटेलको साथै स्टिल, फार्मस्युटिकल्स लगायतका कम्पनी दर्ता भएका छन् ।