नेपालमा घण्टौ कुराउँदा केही हुँदैन, जापानमा मन्त्री ३ मिनेट ढिलो पुग्दा भयो यस्तो



काठमाडौं । नेपालमा समयको ख्याल नगर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम अग्र पंक्तिमा आउँछ । तोकिएको समयमा भन्दा ३ घण्टापछि मात्रै उनी कार्यक्रममा आउने गरेको भन्दै भुक्तभोगी हैरान भएका छन् ।

नेपालमा विशेषगरी पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल समयको असाध्यै ख्याल गर्ने नेता हुन् । यस्तै नारायणकाजी श्रेष्ठ पनि समयमा नै कार्यक्रममा पुग्छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि समयलाई ध्यान दिँदैनन् ।

युवा नेता गगन थापा सकेसम्म समयलाई असाध्यै ख्याल गर्ने नेतामा पर्छन् । त्यस्तै, अहिलेका अर्थमन्त्री युवराज खतिवडा पनि सकेसम्म समयमै पुग्छन् ।

नेपालका अधिकाशं नेताले समयलाई ख्याल गर्दैनन् । समय नै धनको हो भन्ने विषयमा नेपालमा नेताहरु असाध्यै कमजोर छन् । यो नेपालको कुरा भयो ।

विदेशतिर पनि समयलाई कही असाध्यै पालना गरिन्छ भने कही समयको महत्वलाई धेरै नै प्राथमिकतामा राखिन्छ । जापनामा पछिल्लो पटक एउटा यस्तै घटना भएको छ । समयको ख्याल नगरी ३ मिनेट ढिला पुगेको भन्दै जापनाका सांसदहरुले एक मन्त्रीलाई थाल खाम कि भात खाम बनाइदिएका छन् ।

योशीताका साकुरादा नाम भएका मन्त्रीलाई सांसदहरुले हैरान पारिदिएका छन् । जापानका उनी ओलिम्पिक्स मामिलासम्बन्धी मन्त्री हुन् । गत बिहीवार उनी निर्धारित संसदीय बैठकमा ३ मिनेट ढिलो पुगे ।

विपक्षी सांसदहरूले उनको ढिलाईले उनको कार्यालयप्रतिको अपमान दर्शाएको भन्दै बजेट समितिको बैठक नै विरोधस्वरूप ५ घण्टासम्म बहिष्कार गरिदिए ।

श्रृङ्खलाबद्ध गल्ती गरेको भन्दै साकरादाको उनीहरूले चर्को आलोचना गरेको बिबिसीले जनाएको छ ।

गत साता साकुरादाले ओलिम्पिक्समा पौडीमा पदक जित्ने आश गरिएकी जापानी खेलाडी रिकाको इकिलाई ल्युकेमिया रोग लागेको पत्ता लागेपछि आफू निराश भएको जनाएका थिए ।

सन् २०२० को टोकियो गेम्समा उनले स्वर्णपदक ल्याउने सम्भावना थियो । उनीप्रति हाम्रो ठूलो आशा थियो । म निराश भएको छु, उनले भनेका थिए । लगत्तै उनको सो टिप्पणीको आलोचना भयो र उनले क्षमा मागे ।

सन् २०१६ मा पनि उनले दोस्रो विश्व युद्धताका जापानी सैनिकलाई मनोरञ्जन गराउन बाध्य पारिएका कम्फर्ट विमेन भनिने महिलाहरूलाई व्यावसायिक वेश्याको संज्ञा दिएपछि आलोचित बनेका थिए ।

अनि गत वर्ष साइबर सुरक्षा मामिलाको समेत जिम्मेवारी सम्हालेका साकुरादाले आफूले कहिल्यै कम्प्युटर नचलाएको र सधैँ कर्मचारीको सहयोग लिने गरेको बताएका थिए । विपक्षीहरूले बारम्बार उनको राजीनामा माग गरेका छन ्।

जापानमा बैठकहरूमा केही ढिलो पुग्नुलाई भयंकर गल्ती नै त मानिँदैन तर यो पछिल्लो घटना भने चर्चित बन्यो । बारम्बार गल्तीहरू दोहोर्‍याइरहेको भन्दै विपक्षी सांसदहरूले यो विषयलाई चर्को गरि उठाएको बिबिसीको विवरणमा उल्लेखछ । ।

के साकुरादा मन्त्री बनिरहन योग्य छन् भनी गरिएको एक मत सर्वेक्षणमा सहभागीमध्ये ६५ प्रतिशतले छैनन् भने । आसाही सिम्बुन पत्रिकाले यो साता निकालेको आँकडामा केवल १३ प्रतिशतले उनी योग्य छन् भनेको देखायो ।

साकुरादालाई वर्तमान पदमा गत वर्ष अक्टोबरमा नियुक्त गरिएको हो। उनको जिम्मेवारीमा सन् २०२० मा हुने ओलिम्पिक्स प्रतियोगिताको साइबर सुरक्षाको निगरानी गर्नु पनि पर्छ ।


पुष्प दुलाल