आकाशमा हिँडेको महशुस गराउन काठमाडौंको कमलादीमा यस्तो टावर बन्दैछ (भिडियोसहित)



काठमाडौं । उपत्यका विकास प्राधिकरणले कमलादीमा निर्माण गरिने ‘सिसा टावर’ निर्माणको लागि वन्र्डस नेपाल प्रालिलाई अनुमति दिएको छ । यसअघि नै काठमाडौं महानगरपालिकाले टावर निर्माणको लागि नक्सा पास गरी निर्माणको लागि अनुमति दिइसकेको छ ।

प्राधिकरणका प्रवक्ता नरेन्द्र न्यौपानेले प्राधिकरणको भवन मापदण्ड पुरा गरेसँगै टावर निर्माणको लागि अनुमति दिएको बताए ।

‘प्राधिकरणले टावर निर्माण हुनुअघि उपयुक्त छ छैन भनेर अध्ययन गरी उपयुक्त भएको भन्दै सिसा टावर निर्माणको लालि अनुमति दिएको हो,’ प्रवक्ता न्यौपानेले क्लिकमाण्डूसँग भने ।

‘स्काई वाक’ नाम दिएको उक्त टावरको उचाई ७५ मिटर हुने वन्र्डस नेपालले बताएको छ । कम्पनीका अधिकारी सञ्जीव रोक्काका अनुसार हवाई विभागबाट अबको केही दिनमै अनुमति लिई टावर निर्माण सुरु गरिने छ।


फागुन भित्रै निर्माण कार्य सुरु गरिने रोक्काले बताए ।  सिसा टावर एक प्रकारले भ्यू टावरको स्वरुपमा हुने छ । ७५ मिटरमाथि सिसामाथि हिँडेर सर्वसाधारणले स्काइ वाकको मज्जा लिन सक्नेछन् ।

१३ रोपनी जग्गामा निर्माण गर्न लागिएको सिसा टावरको लागत करिब ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

जापान, चीन लगायतको टोलीले चासो देखाएको बताँउदै चिनियाँ टोलीसँग मिलेर निर्माण गरिने छ । ३ वर्षमा टावर निर्माणसक्ने लक्ष्य राखे पनि कम्पनीले २ वर्ष ८ महिनाभित्र निर्माण पूरा गर्ने बताएको छ ।


पुष्प दुलाल