किन घट्यो निर्जीवन बीमा कम्पनीको नाफा ? ६ महिनामा कसले कति कमाए ? (सूचिसहित)



काठमाडौं । अहिलेसम्म सबै निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
बीमा कम्पनीहरुले जारी गरेको वित्तीय विवरण हेर्दा नाफामा गिरावट देखिएको छ ।

समग्रमा निर्जीबन बीमा कम्पनीहरुको नाफामा २ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३७ करोड ८९ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको निर्जीबन बीमा कम्पनीहरुले चालु आवको दोस्रो त्रैमासमा १ अर्ब ३५ करोड ७१ लाख २० हजार रुपैयाँ मात्र नाफा आर्जन गरेका छन् । वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीहरुमा ४ वटाको नाफा घटेको छ ।

निर्जीबन बीमा कम्पनीको एक्चुरी मूल्यांकन गरिएको छैन । एक्चुरीपछि मात्र बीमा कम्पनीको नाफाको वास्तविक अवस्था थाहा पाउन सकिनेछ ।

चालु आवको पहिलो त्रैमासमा सबै भन्दा बढी नाफा कमाउने निर्जीवन बीमा कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ ।

शिखरले २१ करोड २० लाख ६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिमा १९ करोड ६६ लाख ७३ हजार रुपैयाँ रहेको थियो ।

शिखरपछि बढी नाफा कमाउने कम्पनीमा नेको इन्स्योरेन्स रहेको छ । नेकोले १७ करोड ३ लाख १९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । नेकोको गत आवको सोहि अवधिमा ११ करोड ६५ लाख १४ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा सबैभन्दा कम नाफा आर्जन गर्ने कम्पनीमा यूनाईटेड इन्स्योरेन्स कम्पनी देखिएको छ । यसको नाफा २ करोड ४१ लाख ५४ हजार रुपैयाँ रहेको छ । यो नाफा पनि गत आवको भन्दा निकै कम हो । गत आवको सोहि अवधिमा १७ करोड ४० लाख ५ हजार रुपैयाँ रहेको थियो ।

चालु आवको दोस्रो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुको नाफामा सुधार आउन नसकेपनि बीमा शुल्क आर्जन भने निकै बढेको छ ।

कम्पनीहरुको रिपोर्ट अनुसार गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोहि अवधिमा बीमा शुल्क १४.९२ प्रतिशतले बढेको छ ।

यो अवधिमा सबै भन्दा बढी बीमा शुल्क आर्जन गर्ने बीमा कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ । शिखरको ९० करोड ४९ लाख ५० हजार रुपैयाँ रहेको देखिएको छ । यो अवधिमा सबै भन्दा न्यून युनाइटेलको १५ करोड ५७ लाख ३८ हजार रुपैयाँ रहेको छ ।


पुष्प दुलाल