पश्चिम सेती जलविद्युत आयोजना आफ्नै कार्यकालमा शुरु गर्ने प्रधानमन्त्रीको घोषणा



डडेलधुरा । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको विद्युत आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन डडेलधुराको स्याउलेमा निर्माण गरिएको सबस्टेसनको उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार अमरगढी नगरपालिका वडा नं. १ दुधकाँडेमा नेपाल सरकारको लगानीमा निर्माण भएको १३२/३३ केभी सवस्टेशनको उद्घाटन गरेका हुन् ।

सब स्टेसन संचालनमा आएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आगामी दिनमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत त्यही मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गराउन पूर्वाधार पनि तयार भएको छ । यसले त्यस क्षेत्रको विद्युत विकासका लागि सहज वातावरणको निर्माण हुनेछ ।

प्रधानमन्त्री ओलीले सब स्टेसनको निर्माणपछि सुदूरपश्चिमको विद्युत् आपूर्तिलाई नियमित र भरपर्दो बनाउने अत्यन्त महत्वपूर्ण भूमिका खेलेको बताए ।

आफ्नो पहिलो कार्यकालमा सबस्टेसनको ठेक्का प्रक्रिया सुरु भएको उल्लेख गर्दै ओलीले ७५० मेगावाटको पश्चिम सेतीआयोजना पनि आफ्नै कार्यकालमा निर्माण सुरु गर्ने घोषणा गरे ।

‘सुदूपश्चिमको आर्थिक विकाससँग जोडिएको पश्चिम सेती मेरै कार्यकालमा निर्माण सुरु हुन्छ,’ उनले भने, ‘विद्युत् नपुगेको क्षेत्रमा पनि व्यापक रुपमा विद्युतीकरण गर्ने छौं ।’

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सबस्टेसनको निर्माणले सुदूरपश्चिमको ऊर्जा क्षेत्रको लागि महत्वपूर्ण पूर्वाधार तयार गरेको बताए ।

‘यस क्षेत्रमा अध्ययन, निर्माणाधीन तथा निर्माणको चरणमा जान लागेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई वितरण गरी खपत गर्न नसकेकोलाई अन्य क्षेत्रमा लैजान सक्ने पूर्वाधार क्षमतातयार भएको छ,’ उनले भने ।

‘पश्चिम सेतीलाई अगाडि बढाउन अहिले लगानी बोर्डमा छलफल भइरहेको छ, यस क्षेत्रका जनताको भावनालाई समेटेर पश्चिम सेती उपयुक्त लगानी मोडलमा तत्काल निर्माणमा लैजान ऊर्जा मन्त्रालय प्रतिबद्ध छ ।’

दार्चुलास्थित ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको विद्युत स्याउले सबस्टेशनबाटै डडेलधुरा, बझाङ, दार्जुला, डोटी, वैतडी र अछाममा बितरण भइरहेको छ ।

यसअघि नेपाल विद्युत प्राधिकरणले चमेलियाको विद्युत दार्चुलाको बलाँचबाट १३१ किलोमिटर १३२ केभी प्रसारण लाइनमार्फत कैलालीको अत्तरिया पुर्याई फेरिकरिब एक सय किलोमिटर ३३ केभी फिडरमार्फत ती जिल्लामा आपूर्ति गर्दै आएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्याउले सबस्टेसन संचालनमा आएपछि सुदुपश्चिमका पहाडी जिल्लाहरुमा विद्युत प्रवाहको गुणस्तरलाई पनि बढाएको बताए ।

‘स्याउले सवस्टेशन निर्माण हुनुभन्दा पहिला अत्तरिया सवस्टेशनबाट पहाडी जिल्लाहरुमा एउटा ३३ के.भी. फिडर मार्फत विद्युत बितरण गरिन्थ्यो, जसले गर्दा कुनै एक ठाउँमा फल्ट भएपनि सबै जिल्लाहरु अन्धकारमा बस्नुपर्ने बाध्यता थियो,’ घिसिङले भने ।


पुष्प दुलाल