कांग्रेसले भन्यो- ओली सरकार बयलगाढामा बसेर सगरमाथा चढ्न खोज्यो, भ्रष्टाचारमा छलाङ



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार बयलगाढामा बसेर सगरमाचा चढ्न खोजेको आरोप लगाएको छ । सरकारले सम्मृद्धिका मिठा नारा दिएको तर काम भने केही पनि गर्न नसकेको कांग्रेसको ठहर छ ।

वर्तमान प्रधानमन्त्रीले गणतन्त्रका लागि संघर्ष भइरहेको बेला बयलगाडाको प्रसंग उल्लेख गर्दै कांग्रेसले भनेको छ, ‘आज ओलीको सरकारको गति, मति, प्रवृत्ति र एक वर्षको दुव्लो शैली हेर्दा ‘समृद्धि’ मिठो नारा मात्रै होइन भने वयलगाडामा बसेर चढिन्न सगरमाथा ।’

वितेको वर्षको समग्र आर्थिक चित्रमध्ये ७ वटा प्रतिनिधि तथ्य दिँदै सहज राजनैतिक वातावरण र दुइतिहाइको सरकार भएर पनि देशले एउटा सिंगो वर्ष व्यर्थमै विताएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बलियो सरकार भनिए पनि विकास खर्च माघमध्यमा आइपुग्दा केवल २२.८७ प्रतिशत मात्रै छ ।

‘अघिल्लो कांग्रेस नेतृत्वको सरकारको ५ महिनामा ११.१२ अर्व भित्रिएको थियो भने कम्युनिष्ट सरकार बनेपछि प्रथम ५ महिनामा झण्डै ५ अर्व घटेर ६.७८ अर्व विदेशी लगानी भित्रिएको छ,’ प्रवक्ता शर्माले भने ।

बाह्य मुद्राको सञ्चीति कांग्रेस सरकारको प्रथम छ महिनामा १० खर्व ६७ अर्व थियो भने कम्युनिष्ट सरकारको प्रथम छ महिनामा झण्डै १० अर्व घटेर १० खर्व ५८ अर्व रहेको उनले बताए । कांग्रेसको सरकार हुँदा ११ महिनाको आयात धान्ने विदेशी मुद्रा रहेको र कम्युनिष्टको सरकार हुँदा ८ महिना धान्ने स्थितिमा गिरेको उनले बताए ।

त्यस्तै, कांग्रेस नेतृत्वको सरकारको प्रथम छ महिनामा भन्दा व्यापार घाटा भण्डै दुई खर्वले बढेको छ कम्युनिष्ट सरकारको छ महिनामा । त्यसबेला ४.९३ खर्व थियो व्यापार घाटा अहिले ६.७८ खर्व पुगेको प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै, कांग्रेसले शोधानान्तर घाटा चरम चुलीमा उक्लीएको उल्लेख गरेको छ । कांग्रेस सरकारको शुरुवाति ५ महिनामा ९ अर्व रहेको शोधानान्तर घाटा वर्तमान सरकारको ५ महिनामा ८५ अर्व नाघेको जारी विज्ञप्तीमा उल्लेख छ ।

अर्थतन्त्रको ‘पल्स’ मानिने शेयर बजार यो सरकार आएपछि क्रमश धाराशायी हुँदै गएको छ । स्थानीय चुनावको मुखमा नेप्से १७०० कटेको थियो । पछि १५२० मा रहेको नेप्से कम्युनिष्ट सरकार बनेपछि १३८०, ११२८ हुँदै यो सरकारले एक वर्ष पुरा गरेको फागुन २ मा आइपुग्दा १११२ मा झरेको छ ।’

‘यी तथ्यहरु ध्यानपुर्वक पढिसकेर सम्माननीय प्रधानमन्त्रीज्यूले छात्तीमा हात राखेर आँखा एकछिन बन्द गरेर पक्कै सोच्नु हुनेछ– सहज राजनैतिक वातावरण पाएर पनि के मैले वितेको एक वर्षमा देशको समृद्धिका लागि सुयोग्यता प्रस्तुत गर्न सकें त ?’ विज्ञप्तीमा भनिएको छ ।

प्रस्तुत तथ्य र तथ्यांकहरु प्रतिपक्षी पार्टीको कार्यालयमा उत्पादित होइनन् राज्यकै सम्बन्धित तहहरुबाटसार्वजानिक गरिएको भन्दै सहज अवस्थाको कम्युनिष्ट सरकारलेभन्दा प्रतिकुल अवस्थाको कांग्रेस सरकारले कार्य सम्पादन चुस्तसंग गरेको कांग्रेसको दाबी छ ।

सरकारलाई गुण र दोषको आधारमा समर्थन र विरोध गरिएको प्रवक्ता शर्माले बताए ।

बुढीगण्डकीमा राष्ट्रघात

सरकाले बुढीगण्डकी आयोजनामा राष्ट्रघात गरेको कांग्रेसको आरोप छ । नेपालीको आफ्नै लगानीमा निर्माण गर्ने गरी डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैंयाका दरले अर्बौ रकम बुढी गण्डकी परियोजनाका लागि संकलन भइरहेको छ ।

‘तर त्यो परियोजना एकाएक आकस्मिक ढंगले एक विदेशी कम्पनीलाई सुम्पिइयो, न कुनै गहिरो अध्ययन न कुनै गम्भीर छलफल, न कुनै प्रतिश्पर्धा,’ विज्ञप्तीम भनिएको छ, ‘बुढीगण्डकी परियोजना त्यसरी सुम्पनु वितेको वर्षमा वर्तमान सरकारबाट सम्पादित सबै भन्दा ठूलो विश्वासघात त हो नै यो गम्भीर राष्ट्रघात समेत हो ।’

भ्रष्टाचारमा क्रान्तीकारी छलाङको वर्ष

सरकारले एक वर्ष पुरा गर्नै लाग्दा सम्माननीय राष्ट्रपतिद्वारा व्यक्त अभिव्यक्ति सरकारको एक वर्षे समिक्षाको संक्षिप्त निस्कर्षका रुपमा पर्याप्त भएको कांग्रेसको ठहर छ ।

‘राष्ट्रपतिले भ्रष्टाचार संस्थागत ढंगले भइरहेको सुनेकी छु भन्नुभएको छ, एक वर्षको अनेक मध्येका केही प्रतिनिधि चित्रले प्रष्ट्याउछन् राष्ट्रपतिले किन त्यस्तो बोल्ने बाध्यात्मक स्थिति आइपुग्यो’ कांग्रेसले भनेको छ ।

वाइड बडी जहाज खरिदमा अर्वौको घोटाला बाहिर आउँदा पनि सरकारले जारी छानवीनको प्रक्रिया अवरुद्ध गर्ने ढंगले ‘शाही आयोग’ गठनको शैलीमा ‘ढाकछोप आयोग’ गठन गरेको कांग्रेसको आरोप छ ।

त्यस्तै प्रदेश पाँचमा एक दर्जन गाडी खरिद गर्दा बजार मूल्य भन्दा बढीको रकम निकासाको भ्रष्टाचार र त्यसमाथिको छानवीनमा अख्तियारलाई सहयोग गर्न गरिएको ढिलाईले पुष्टि गर्दै भ्रष्टाचारले सिंहदरवार देखि क्रमश प्रदेश दरवारतर्फ गति लिइरहेको छ ।

‘कम्युनिष्ट सरकारको एक वर्षमा भ्रष्टाचार तिव्र ढंगले फैलिएको, झ्याङ्गीएको र क्रान्तिकरी छलाङ्ग मारेर संस्थागत हुँदै गएको देखिन्छ,’ विज्ञप्तीमा भनिएको छ ।


पुष्प दुलाल