अर्थमन्त्रीले भने- एकैव्यक्ति उद्योगी र बैंकर हुँदा ब्याजदरमा समस्या देखियो



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योगी र बैंकर एउटै व्यक्ति हुँदा समस्या देखिएको बताएका छन् ।

नेशनल बैकिङ इन्ष्टिच्युट (एनबिआई) १० वर्ष पुरा भएको अवसरमा आयोजित बैकिङ सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडा उद्योगी र बैंकर एउटै व्यक्ति हुँदा शुसासन पालना नभएको बताए ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उद्योग वाणिज्य महासंघको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्याजदर घटाउनको लागि ज्ञापनपत्र दिएका थिए । अर्थमन्त्री खतिवडाले बैकिङ क्षेत्र पारदर्शी तरिकाले नचलेमा हस्तक्षेप हुने बताए ।

‘उद्योगीले ब्याजदर घटाउनका लागि भनिरहेका छन्, बैंक लगानीकर्ताको हिसाबले घटाउन खोजेका छैनन्, यसमा इथिक्सको समस्या देखियो,’ अर्थमन्त्री खतिवडाले भने ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले भने बैकिङ क्षेत्रमा परिवर्तन भएको हुँदा क्षमता विस्तारको काम अगाडि बढाउनुपर्ने बताए ।

नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले व्यवसायीले भने जस्तो तत्काल एकल अंकमा कर्जाको ब्याजदर नआउने बताए ।

‘व्यवसायीले एकल अंकमा कर्जाको ब्याजदर ल्याउन माग गर्नु भएको छ, तर अहिले औसत बेसरेट नै १० प्रतिशत छ त्यो हुँदा कर्जाको ब्याजदर घटाउन सकिदैन,’ ढुंगानाले भने ।

एनबिआई स्थापनाको १० वर्ष पुरा गरेको अवसरमा आयोजना भएको बैकिङ सम्मेलनमा बैकिङ क्षेत्रका विभिन्न विषयमाथि छलफल हुने छ । सम्मेलनमा भाग लिन भारतबाट समेत त्यहाँको बैंकमा कार्यरत उच्च अधिकारीहरु आएका छन् ।


पुष्प दुलाल