पशुपति शर्माको लुट्न सके लुट कान्छा… भन्ने गीतदेखि किन डरायो सरकार ?



काठमाडौं । राणाकालमा मकैको खेती लेखेका सुब्बा कृष्णलाल अधिकारीलाई राजकाजकाज ताकेको आरोपमा पक्राउ गरियो । र, जेलमा नै उनको मृत्यु भयो ।

पञ्चायतकाका पनि कलाकार, पत्रकार तथा सर्जकलाई त्यसैगरी यातना दिइएको थियो । बहुदलकालमा पनि सरकारको आलोचना गरेकै आधारमा केही नागरिकलाई सरकारले ज्यादती गरेको थियो ।

यतिखेर देशमा गणतन्त्र छ । जनताको शासन भनिएको छ । तर, सर्जकले स्वतन्त्र रुपमा आफ्ना सिर्जना पस्कन पाएका छैनन् । यो अवस्था नेपालमा मात्रै होइन संसारभर नै रहेको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई आलोचना गर्ने मिडियाका समाचारलाई फेक न्यूज भनिदिन्छन् । र, पत्रकारको परिचयपत्र समेत खोसिदिन्छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारको आलोचना गर्ने मिडियाका सम्पादक तथा रिपोर्टरलाई हतोत्साहति बनाएका छन् । चीनमा त सरकारको विरोध ने गर्न पाइँदैन । यस्तै भएको छ, पछिल्लो पटक नेपालमा पनि ।

लोकप्रियलोक सर्जक पशुपति शर्माले हालै मात्र एक गीत सार्वजनिक गरे । उनले गणतन्त्रको नाममा भइरहेको ज्यादतीको विषयमा गीत मार्फत व्यंग्य गरेका थिए ।

गायक शर्माको गीत सार्वजनिक भएपछि शनिवार दिन भर प्रधानमन्त्री निवास बालुवाटमार ठूलै हल्ली खल्ली भएको थियो । शर्माले गीतमा प्रधानम्न्त्री केपी शर्मा ओलीको आलोचना गरेका थिए । उनले भाषण मात्रै गर्ने काम केही नगर्ने भन्दै आलोचना मात्रै गरेका थिएनन्, एउटा राजा हटेपछि देशमा दर्जनौ राजा भएको भन्दै आपत्ति समेत जनाएका थिए ।

राष्ट्रपतिले डेढ अर्बको हेलिकोप्टर चढ्दा जनताले भने सिटामोल नपाएको विषयलाई उनले गीतमा समेटेका थिए । नेताले जस्तो सुकै नराम्रो काम गरे पनि कार्यकर्ताले भने उनीहरुलाई सहयोग गरेकोमा समेत आपत्ति जनाएका थिए ।

शर्माको गीत एकाएक भाइरल भएको थियो । नेपालभित्र यूट्यूबको टे«न्डिङमा एकाएक ११ नम्बरमा समेत आएको थियो । गीत सार्वजनिक भएपछि उनलाई विभिन्न कोणबाट दबाव दिइएको अपुष्ट समाचार पनि आएको छ । तर दबाव कसले दियो भन्ने बारेमा केही बताइएको छैन ।

गीतको आलोचना भएको भन्दै गायक पशुपति शर्माले आफ्नै यूट्यूब च्यानमा अपलोड गरेको लुटन सके लुट कान्छा नामक गीत हटाएका छन् ।

के भने पशुपति शर्माले ?

‘सर्वप्रथम त म यहाँहरुलाई जानकारी गराउन चाहान्छु कि म राजनीतिलाई त्यति गहिराइबाट बुझ्दिन । तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगति व्याप्त हुनु हुँदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले विसंगतीलाई व्यंग्य गरोस् भन्ने मेरो एकमात्र ध्यय थियो’, उनले भनेका छन, ‘मैले कुनै राजनैतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्थासँग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असन्तुष्टि रहन गएकाले जुन जुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दहरुलाई परिमार्जन गर्न गईरहेको छु ।’

उनले भनेका छन, ‘केही समय लाग्ला जुन शब्दमा असन्तुष्टि देखियो ती शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने सम्झिएको छु ।’

सामाजिक सञ्जालमा शर्माको पक्ष 

शर्माको गीतलाई लिएर सामाजिक सञ्जालमा पक्ष र विपक्षमा धारणाहरु सार्वजनिक भएका छन् । सरकार सञ्चालन गरिरहेको नेकपाका केही कार्यकर्ताले गायक शर्माले जानी जानीकन सरकारको आलोचना गरेको र राष्ट्रपति र प्रधानमन्त्रीलाई विवादमा तानेको बताएका छन् । केहीले भने आलोचना गर्न पाइने स्वतन्त्रता सबैलाई भएको बताएका छन् ।

गीतको सर्मथनमा नै धेरैको मत आएको छ । एकाधले मात्रै गीत गलत भएको धारणा सार्वजनिक गरेका छन् । उनले जुन स्तरको व्यङ्ग्य गीतमा गरेका छन् । त्यसलाई भने आम मानिसले भने रुचाएका छन् । 


पुष्प दुलाल