जनताको जलविद्युत् कार्यक्रमको पहिलो शेयर माथिल्लो त्रिशुली थ्री बी को, कति किन्लान् प्रधानमन्त्रीले ?



काठमाडौं । सरकारले बिहीबार घोषणा गरेको जनताको जलविद्युत् कार्यक्रमकोे पहिलो शेयर माथिल्लो त्रिशुली थ्री बी आयोजनाको बिक्री गर्ने भएको छ ।

नुवाकोटमा हालै मात्र शिलान्याश गरिएको सो आयोजनाको शेयर बिक्री गर्ने तयारी गरिएको हाइड्रो इलेक्ट्रिसीटी एण्ड इन्भेस्टमेन्ट लिमिटेडले जनाएको छ । सो आयोजनाको क्षमता ३७ मेगावाट रहेको छ ।

सरकारले अग्रिम सेयर बिक्रीका लागि धितोपत्र नियामावलीमा समेत संशोधन गरेको छ । आवश्यक कानूनी तथा अन्य प्राविधिक विषय मिलाउन अझै ३५ दिन लाग्ने भएकाले आगामी चैत ७ गतेदेखि अग्रिम सेयर बिक्री गरिने छ । सरकारले आइतबार मात्रै आगामी चैत ७ गतेदेखि शेयर बिक्री गर्ने जनाएको छ ।

चैतभित्रै त्रिशुली थ्रि बीको शेयर आउने र अरु आयोजनाको शेयर एक वर्षभित्र आउने जनाइएको छ । तर के कति मात्रामा सेयर बिक्री हुने भन्ने बारेमा भने छिट्टै निर्णय हुने जनाइएको छ ।

आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा नेपाल प्राधिकरण र नेपाल टेलिकमको ३०÷३० प्रतिशत सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ ।

आयोजनाको अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड रुपैयाँ र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको छ ।

आयोजनामा ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण(५ अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ । आयोजनामा नबिल बैकको अगुवाईमासह–वित्तीयकरणमार्फत ऋण लगानी भएको छ । प्रवद्र्धक कम्पनी र बैकहरुबीच ४ भदौ २०७५मा ऋण सम्झौता भइसकेको छ ।

आयोजनाबाट सुख्खायाममा १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने छ । आयोजनाबाट उत्पादन हुने विद्युत खरिद–बिक्रीका लागि प्राधिकरणसँग विद्युत खरिद–बिक्री सम्झौता भइसकेको छ । विद्युत् बिक्रीबाट वार्षिक करिब १ अर्ब ८९ करोड रुपैयाँ आम्दानी हुने छ ।

जनताको जलविद्युत अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो सेयर आफूले किन्ने बताएका थिए ।


पुष्प दुलाल