भारतले भन्यो- पानीजहाज चलाउन नारायणी नदीको त्रिवेणी घाटसम्म जलमार्ग बनाइदिन्छु



काठमाडौं । प्रधानमन्त्री केपी ओलीको पानीजहाज चलाउने सपना साकार पार्न भारतले नारायणी नदीको त्रिवेणीघाटसम्म जलमार्ग बनाइदिने प्रस्ताव गरेको छ ।

नेपाल–भारतको सीमा क्षेत्र नारायणी नदीको त्रिवेणीघाटसम्म भारत सरकारले जलमार्ग तयार पारिदिँदा नेपाललाई पर्याप्त फाइदा पुग्ने भन्दै भारत सरकारले यस्तो प्रस्ताव गरेको हो ।

अन्तर्राष्ट्रिय दिगो विकास सम्मेलनमा भाग लिन नयाँदिल्ली पुगेका उर्जामन्त्री वर्षमान पुनसँग भारतको गंगा संरक्षण मन्त्री नितिन गडकरीले जलमार्ग बनाइदिने प्रस्ताब गरेका हुन् ।

‘उर्जामन्त्री पुन र भारतको गंगा संरक्षण मन्त्री नितिन गडकरीबीच भएको भेटवार्तामा गडकरीले नारायणी नदीको त्रिवेणीघाटसम्म जलमार्ग बनाइदिे प्रस्ताब गर्नुभयो,’ भेटवार्तामा सहभागी नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले भने ।

नेपालतर्फको जलमार्ग बनाउन पनि भारत सरकारले सहयोग गर्ने गडकरीले बताएका थिए । मन्त्री पुनले भारतीय पक्षको प्रस्ताबलाई सकरात्मक रुपमा लिएको अधिकारीले जानकारी दिए ।

सरकारले पानीजहाज सञ्चालको कार्यालय नै स्थापना गरेको छ । आजमात्रै प्रधानमन्त्री ओलीले उक्त कार्यालयको उदघाटन गरेका छन् ।

चुनाव अघिदेखि नै ओलीले पानीजहाज चलाउने घोषणा गरेका थिए । चुनाब जितेपछि सरकार बन्यो । र, उर्जा मन्त्रालयले नेपालका कुन कुन नदीमा पानीजहाज चलाउन सकिन्छ भनेर अध्ययन गर्दा कोशी र नारायणी पानीजहाज चलाउन संभव देखिएको उर्जामन्त्री पुनले जानकारी दिए । जसअनुसार सरकारले अहिले पानीजहाज चलाउने कामलाई अघि बढाएको छ ।

त्यसैगरी, पञ्चेश्वर आयोजनाको बारेमा छलफल भएको तर कुनै निष्कर्श ननिस्किएको प्रबक्ता अधिकारीले जानकारी दिए ।


पुष्प दुलाल