धितोपत्र बोर्डले शिबम् सिमेन्टको आइपीओको मूल्य १०० रुपैयाँले घटायो, अब ३०० मै पाइने



काठमाडौं । शिवम् सिमेन्टसको आइपीओमा आवेदन दिन चाहने लगानीकर्ताहरुले पुर्वनिर्धारित मूल्य भन्दा १०० रुपैयाँ कममा आवेदन दिन सक्ने भएका छन् ।

यसअघि उक्त सेयरमा सर्वसाधारणले प्रतिकित्ता ४०० रुपैयाँ तिर्नुपर्ने भएपनि धितोपत्र बोर्डले सेयर मूल्य घटाएरसँगै अब लगानीकर्ताहरुले प्रतिकित्ता ३०० रुपैयाँमा आवेदन दिन पाउने भएका छन् ।

बोर्डका प्रवक्ता निरज गिरीले यसअघि ४०० रुपैयाँ निर्धारण गरिएको सेयरमा सर्वसाधारणले ३०० मा आवेदन दिन सक्नेछन् भने ३०० रुपैयाँ आयोजना प्रभावितका लागि छुट्टयाएको सेयरमा २०० रुपैयाँमा आवेदन दिने पाउने बताए ।

यसअघि सिमेन्टले आयोजना प्रभावितका लागि १०० रुपैयाँ अंकित मूल्यमा २०० रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ३०० र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम मूल्य थपेर ४०० मा सार्वसाधारणका लागि सेयर जारी गर्ने भनेको थियो ।

कम्पनीले ३०० रुपैैयाँमा स्थानीयलाई सेयर समेत जारी गरीसकेको छ । त्यो समयमा स्थानीयले आवेदन दिन चासो कम देखाएपछि बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले सेयरको मूल्य घटाउन बोर्डमा अनुरोध गरेको थियो । त्यही अनुरोधलाई स्विकार्दै प्रतिकित्ता १०० रुपैयाँ कम अर्थात ३०० रुपैयाँमा सेयर जारी गर्न अनुमति प्रवक्ता गिरीले बताए ।

कम्पनीले नै मूल्य परिमार्जन गर्न भनेपछि बोर्डले त्यसलाई सदर गरेको उनको भनाई छ । बोर्डको यो निर्णयसँगै अब शिवम् सिमेन्टले सर्वसाधारणका लागि प्रतिकित्ता ३०० रुपैयाँका दरले साधारण सेयर (आइपीओ) निश्कासन गर्नेछ ।

यसअघि ३०० रुपैयाँका दरले सेयरमा आवेदन दिएका स्थानीयले अब २०० रुपैयाँका दरले सेयर पाउने र बाँकी रकमको सेयरमा पुनः आवेदन दिन पाउने भएका छन् ।

यसअघि साउन १३ देखि भदौ ११ गतेसम्म स्थानीयका लागि ८ लाख ८० हजार कित्ता सेयर खुलेको थियो । त्यो समयमा स्थानीयले अब ४४ लाख कित्ता सर्वसाधारणका लागि खुला हुन बाँकी छ ।

४४ लाख कित्ताबाट २ लाख २० हजार कित्ता सामूहिक लगानीकोषका लागि र कम्पनीका कर्मचारीका लागि २ लाख २० हजार कित्ता रहेको छ ।


पुष्प दुलाल