अब काठमाडौं महानगरभित्र जथाभावी सडक खन्न नपाइने, इन्भेन्ट्री’ सडक बनाउँदै विद्यासुन्दर



काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सडक जथाभावी खन्न नदिइने भएको छ । जथाभावी सडक खन्दा शहर सँधैजसो धुलाम्ये बनेको भन्दै सर्वसाधारणले ब्ययापक गुनासो गरेका थिए ।

महानगरका मेयर विद्यासुन्दर शाक्यले जथाभाबी सडक खन्न नदिने तयारी थालेका छन् । सडकको एकीकृत रुपले विकास गर्नका लागि महानगरपालिकाले महानगरभित्र भएका सम्पूर्ण सडकको ‘इन्भेन्ट्री’ गदैछ ।

इन्भेन्ट्री भन्नाले सडक निर्माण गर्नुअघि र निर्माणपछि पनि सडकको बारेमा लिइने सम्पूर्ण जानकारी भन्ने बुझिन्छ । जसको भिडियो समेत हुन्छ ।

इन्भेन्ट्री गर्नका लागि महानगरका मेयर विद्यासुन्दर शाक्य अध्यक्ष रहेको विज्ञसहितको एक टोली निर्माण गरिएको छ । इन्भेन्ट्री अध्ययन चैत्रको अन्तिममा सकिने र कार्यान्वयन भने वैशाखदेखि हुने बताइएको छ ।

८ मिटर सम्मको चौडाइ रहेको पीच तथा कच्ची सडकमा महानगरले इन्भेन्ट्री गर्न लागेको महानगर अन्र्तगतको सहरी योजना आयोगले जनाएको छ । इन्भेन्ट्री गरेसँगै जथाभावी सडक खन्ने प्रवृत्तिको अन्त्य हुने महानगरको भनाई छ ।

इन्भेन्ट्री गरेपछि महानगरभित्र रहेको कच्ची तथा पीच सडकको सम्पूर्ण जानकारी महानगरलाई थाहा हुने सहरी योजना आयोगका अधिकृत सुशील सुवेदीले बताए ।

अधिकृत सुवेदीका अनुसार इन्भेन्ट्री मार्फत् सडक कहिले बनेको ? खाल्डाखुल्डी, पिच भए नभएको ? ढल, बिजुलीको पोल, खानेपानीको पाइप, फुटपाथ लगायतका सम्पूर्ण जानकारी थाहा पाउन सकिन्छ ।

यस्तै इन्भेन्ट्री मार्फत् फुटपाथ, पोल, ढल, पानीको पाइप कहाँ राख्दा उपयुक्त हुन्छ भनेर समेत अध्ययन गरिने महानगरले जनाएको छ ।
इन्भेन्ट्री अर्थात् सडकको उचित व्यवस्थापन गर्नका लागि महानगरले विधुत प्राधिकरण, मेलम्ची आयोजना लगायतका संस्थाहरु सँग समन्वय समेत गर्ने भएको छ ।

पहिलो चरणमा २५० किलोमिटर इन्भेन्ट्री गरिने महानगरले जनाएको छ भने त्यसपछि प्रभाव हेरी महानगरको अन्य भागमा समेत इन्भेन्ट्री गरिनेछ ।

‘पहिलो चरणमा इन्भेन्ट्री गर्न कति समय लाग्छ थाहा छैन, तर एक वर्षको समय लागेपनि महानगरको सबै सडक इन्भेन्ट्री अनुसार निर्माण गरिने छ,’ अधिकृत सुवेदीले क्लिमाण्डूसँग भने ।

इन्भेन्ट्री हेरेर मात्र कामलाई अगाडि बढाउनु पर्ने हुदाँ आयोगले हाल इन्भेन्ट्री सहितकोे काम गर्दैछ । नेपालमा भने हालसम्म इन्भेन्ट्री भएको छैन । महानगरले पहिलो पटक इन्भेन्ट्री गर्न लागेको हो ।

इन्भेन्ट्री गर्नका लागि महानगरका मेयर विद्यासुन्दर शाक्य अध्यक्ष रहेको विज्ञसहितको एक टोली निर्माण गरिएको छ । इन्भेन्ट्री अध्ययन चैत्रको अन्तिममा सकिने र कार्यान्वयन भने वैशाखदेखि हुने बताइएको छ ।


पुष्प दुलाल