हावाबाट बिजुली निकाल्नका लागि बैंकहरुले डलरमा ऋण दिन पाउने



काठमाडौं । राष्ट्र बैंकले नवीकरणीय उर्जा (जलविद्युत, सौर्य र वायु उर्जा) उत्पादन तथा प्रशारणसँग सम्बन्धित आयोजनालाई परिवर्त्य विदेशी मुद्रामा ऋण प्रदान गर्ने व्यवस्थामा संशोधन गरेको छ ।

राष्ट्र बैंकले परिपत्र १९/२०७४ को बुँदा ५ को खण्ड ‘क’ र ‘ख’ लाई परिमार्जन गरी १०० किलोवाट देखि १००० किलोवाटसम्म विद्युत शक्ति उत्पादन गरी बिक्री गर्न निजी क्षेत्रका उद्योग तथा आफ्नै परियोजनाका लागि विद्युत उत्पादन गरी खपत गर्न आवश्यक शर्त पूरा गरी परिवत्र्य विदेशी मुद्रामा अल्प वा मध्यकालीन ऋण प्रदान गर्न सकिने जनाएको छ ।

यसका लागि सानो स्केलमा नवीकरणीय उर्जा उत्पादन गरी बिक्री वितरण गर्न वा कुनै उद्योगले आफ्नै प्रायोजनाका लागि नवीकरणीय उर्जा उत्पादन गर्न उक्त ऋण दिने सकिने जनाएको छ । यस्तो ऋण उत्पादन सम्बन्धी उपकरणहरुको आयात भुक्तानी गर्ने प्रायोजनका लागि मात्र उपयोग हुने राष्ट्र बैंकको भनाई छ ।

यस्तो ऋण उपलब्ध गराउँदा नवीकरणीय उर्जा उत्पादनका उपकरणहरु आयात गर्न खोलिएका प्रतितपत्रको आधारमा मात्र गर्नुपर्ने छ । यस्तो ऋणमा लाग्ने बयाजदर सम्बन्धित बैंकले तोक्न सक्ने व्यवस्था रहेको छ ।

तर आफ्नो उद्योगको आवश्यकता बाहेक नवीकरणीय उर्जा उत्पादन गरी बिक्री वितरण गर्ने साना स्केलका उद्योगहरुको हकमा भने यस्तो ऋण सुविधा प्रदान गर्दा राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्ने छ ।


पुष्प दुलाल