खोटाङको थामखर्क विमानस्थल सुचारु



काठमाडौं । खोटाङ जिल्लाको थामखर्क विमानस्थल सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले विमानस्थलको उद्घाटन गरेका छन् ।

खोटेहाङ गाउँपालिका–४ मा रहेको विमानस्थलको धावनमार्ग कालोपत्रे लगायत स्तरोन्नतिको कामका लागि २०७३ चैत्र १३ गतेदेखि स्थगित भएको थियो ।
थामखर्क विमानस्थल कालोपत्रेको काम रौटा कन्स्ट्रक्सनले करिब १० करोड ६० लाख ७१ हजार रुपैयाँको लागतमा २७ महिनामा सम्पन्न गरेको हो ।

कार्यक्रममा मन्त्री अधिकारीले थामखर्क विमानस्थलमा साताको दुईवटा उडान हुने व्यवस्था मिलाउने बताए । ‘खोटाङ जिल्ला पर्यटनको दृष्टिकोणले पनि महत्वपूर्ण गन्तव्यस्थल भएको र खोटाङबासीको सुविधाको लागि पनि नियमित उडान आवश्यक भएकाले सातामा दुईवटा उडानको व्यवस्था मिलाउँछौं’, मन्त्री अधिकारीले भने ।

त्यसबाहेक, खोटाङ जिल्लामै रहेको लामिडाँडा विमानस्थल आगामी दुई महिनाभित्रमा सञ्चालनमा ल्याइसक्ने र खानीडाँडा विमानस्थल स्तरोन्नतीको काम पनि चाडैं सुरु गर्ने मन्त्री अधिकारीले बताएका छन् । मन्त्री अधिकारीले भने, ‘अहिल नेपाल वायुसेवा निगम सबैभन्दा धेरै यात्रु बोक्ने एयरलाइन्सको रुपमा स्थापित भएको छ । यसलाई लाई अझ सशक्त बनाएर राष्ट्रिय र अन्तर्राष्ट्रिय विमानस्थलमा उडान संख्या बढाउँछौं ।’

खोटाङबाट संघीय प्रतिनिधिसभामा निर्वाचित सांसद विशाल भट्टराईले थामखर्क विमानस्थल स्तरोन्नतिभई सुचारु भएपछि खोटाङको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले थामखर्कमा नियमित उडानको लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाउने बताए ।


क्लिकमान्डु