आप्रवासी कामदारको निःशुल्क बीमा गर्न शुरू



काठमाडौं । पाटन र दशरथचन्द नगरपालिकाका विभिन्न वडाका नागरिकको धमाधम निःशुल्क बीमा गर्न थालिएको छ । गत मङ्सिरदेखि हालसम्म पाटनमा ७५ तथा दशरथचन्द नगरपालिकामा ४५ आप्रवासी कामदारको बीमा गरिएको छ ।

“काम गर्न भारत जाने नागरिकको दुर्घटना बीमा गर्न थालिएको छ”, पाटन नगरपालिकाका नगरप्रमुख केशवबहादुर चन्दले भने । ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज तथा अक्सफाम नेपालको सहकार्यमा रोजगारीका लागि भारत जाने नागरिकको बीमा गर्न थालिएको हो । यस्तै दशरथचन्द नगरपालिकाले समेत भारत जाने कामदारको निःशुल्क बीमा गर्न थालेको छ ।

रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले पहिलो चरणमा सहकारी संस्थामा आवद्ध परिवारका सदस्य मजदुरी गर्न भारत गएमा बीमा गर्ने गरिएको बताए । उदयदेव महिला बचत तथा ऋण सहकारी पाटन, सिद्धेश्वर बचत तथा ऋण सहकारी खोड्पे, महालक्ष्मी बचत तथा ऋण सहकारी सिद्धपुर, शिखर बीउ प्रवद्र्धन सहकारी मुस्याचोर र निङ्लाशैनी बचत तथा ऋण सहकारी देहीमाण्डौँमा आवद्ध परिवारका सदस्यको बीमा गर्न थालिएको छ । ‘एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड’सँग मिलेर बीमा गर्ने गरिएको छ ।

“आप्रवासी कामदारको बीमाको किस्ता रुडेस र नगरपालिकाले तिर्ने गरेका छौँ”, दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले भने, “भारत जाने नागरिकको बीमा गर्ने चलन नभएकाले दुर्घटनामा परेपछि समस्या हुने गरेको थियो । रोजगारीको सिलसिलामा भारतमा दुर्घटनामा परे सजिलोहोस भनेर बीमा गर्न थालेका हौँ ।”


पुष्प दुलाल