रेमिट्यान्सको ५% रकम आइपिओमा, बैदेशिक रोजगारीमा जानेका परिवारलाई आरक्षणमा सेयर दिन सुझाब

406
Shares

काठमाडौं । बैदेशिक रोजगारीमा जानेका कामदारका परिवारलाई पब्लिक कम्पनीहरुले सार्वजानिक गर्ने साधारण सेयर (आइपिओ) मा आरक्षणको व्यवस्था गर्न सिफारिस गरिएको छ । त्यस्ता परिवारलाई कुनैपनि कम्पनीले निष्काशन गर्ने सेयरको ५ प्रतिशत साधारण सेयर आरक्षणस्वरुप दिनुपर्ने व्यवस्था गर्न सिफारिस गरिएको हो ।

श्रम तथा रोजगार मन्त्रालयले गठन गरेको औपचारिक माध्यमबाट विप्रेषण भित्र्याई उत्पादन मुलक क्षेत्रमा उपयोग गर्ने बिषयमा सुझाव पेश गर्न गठित कार्यदलले यस्तो व्यवस्था गर्न सिफारिस गरेको हो ।

‘वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार वा निजका परिवारका सदस्यहरुले आवेदन गर्न पाउने गरि विभिन्न कम्पनीका प्राथमिक सेयरको ५ प्रतिशत हिस्सा उनीहरुका निम्ति आरक्षण गर्न उपयुक्त हुने देखिन्छ,’ सुझाब प्रतिवेदनमा उल्लेख छ, ‘यसका लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ मा संसोधन गर्नुपर्ने देखिन्छ । यस्ता आरक्षण गरेको यस्ता आरक्षण गरिएको सेयरमा बिप्रशणबापत पठाइएको रकम मात्र लगानी गर्न पाउने व्यवस्था मिलाइनुपर्छ ।’

मन्त्रालयका सचिव महेश्वर दाहालको संयोजकत्वमा गठित समितिले ७ महिना लगाएर प्रतिवेदन तयार पारेको हो ।

सुझाब प्रतिवेदनले सर्वेक्षण अध्ययन भईसकेका परियोजनाहरुको परियोजना बैंक बनाउने र त्यस्ता परियोजनाको लागत जुटाउन विप्रेषणकर्ताले स्वेच्छिक रुपमा सेयर लगानी गर्न पाउने व्यवस्था गर्न पनि भनेको छ ।

स्थानीय तहमा विप्रेषण कोषको स्थापना गर्ने र जसमा विप्रेषण कर्ताहरुको संयुक्त योगदान रहने गरि प्राथमिकता प्राप्त आयोजनाहरुमा लगानी गर्नुपर्न सुझाब दिइएको छ ।

रेमिट्यान्समार्फत् देश भित्रिएको अधिकांश रकम उपभोगमा खर्च भइरहेको भन्ने गुनासो आइरहेका बेला सरकारले रेमिट्यान्सको रकम पुँजी निर्माण तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने यस्तो सुझाब दिएको हो ।

‘रेमट्यिान्समार्फत आएको रकम उपभोगमा मात्रै खर्च हुँदा त्यसले राष्ट्रिय अर्थतन्त्रमा अपेक्षित योगदान गर्न सकेको छैन,’ श्रम मन्त्रालयका एक अधिकारीले भने, ‘त्यसैले हामीले आरक्षणमा ५ प्रतिशत सेयर दिने व्यवस्था मिलाउन प्रस्ताब गरेका हौं ।’