धितोपत्र बोर्डको नीतिः बैंकलाई ब्रोकर लाइसेन्स दिएर ब्रोकरलाई मर्जरमा लैजाने



काठमाडौं । धितोपत्र बोर्डले दलाल व्यवसायी (सेयर ब्रोकर)ले अर्को धितोपत्र दलाल व्यवसायीलाई प्राप्ति गर्ने र गाभ्ने/गाभिने सम्बन्धमा नीतिगत व्यवस्था गर्ने भएको छ ।

बोर्डले वाणिज्य बैंकको सहायक कम्पनी तथा धितोपत्र दलाललाई समेत प्राप्ति गर्ने र गाभ्ने÷गाभिने, हाल इजाजत र संचालन नीतिमा पुनरावलोकन गर्न काम अघि बढाउने जनाएको छ ।

यसका लागि धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ संशोधन मस्यौदा तयार गर्ने क्रममा रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

धितोपत्र दलाल व्यवसायीको शाखा कार्यालय स्थापना कार्यलाई समेत अझ व्यवस्थित बनाउन नियमावलीमा थप व्यवस्था गरेपछि आवश्यक प्रक्रिया अघि बढाइने उल्लेख छ ।

यसबाट धितोपत्रको दोस्रो बजार सबै प्रदेश सदरमुकाममा पुग्नुका साथै आर्थिक रुपले सक्रिय जिल्ला-स्थानहरुमा बजार विकासहुँदै जाने र कुल कारोवार संख्यामा समेत वृद्धि हुने बोर्डको अपेक्षा रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

बोर्डका अध्यक्ष रेवतबहादुर कार्की २ वर्षदेखि बैंकलाई ब्रोकर लाइसेन्स दिलाउन निकै ठूलो लबिङ गरेका थिए ।

अर्थ मन्त्रालय पनि बैंकलाई ब्रोकर लाइसेन्स दिन तयार भएपछि राष्ट्र बैंकले केही समयअघि बैंकलाई ब्रोकर लाइसेन्स दिने व्यवस्था गरेको छ ।

बैंकलाई ब्रोकर लाइसेन्स पाउने भएपछि धितोपत्र बोर्डले ब्रोकरलाई मर्जर तथा एक्वायर गर्ने नीति बनाउन थालेको हो ।


पुष्प दुलाल