एयरपोर्टको भन्सारले २ करोड बढीको सामान लिलामी गर्दै, २९ सय बोत्तल त रक्सी मात्रै



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले २ करोड ७ लाख २३ हजार ९५८ मूल्य बराबरका माल वस्तुको लिलामी गर्ने भएको छ ।

विदेशबाट आउने नागरिकले अवैध रुपमा ल्याएका र भन्सार कार्यालयमा रहेका ती मालवस्तुको लिलामीका लागि कार्यालयले सोमबार एक सूचनामार्फत जानकारी गराएको हो ।

लिलामी गर्न लागेका सामानमा ड्रोन क्यामेरा समेत रहेको छ । ३ थान ड्रोन क्यामेरा, लिथियम व्याट्री ३६० थान, स्मार्ट वाच १५८३ थान, कार्बन जम्बो मोबाइल के ९ १९८० थान, कार्बन के ८८ मोबाइल ४०० थान रहेका छन् । यस्तै चुरोट ३४ बक्सा रहेका छन् ।

विभिन्न ब्राण्डमा ह्वीस्की १७५ बोत्तल, यस्तै अन्य ब्राण्डका रक्सी २६६ बोत्तल पनि लिलामी गर्न लागिएको छ । लिलामी हुन लागेका रक्सीमा फरक फरक मितिका क्रमशः ३१७ बोत्तल, ४६९ बोत्तल, ५८४ बोत्तल, ८४१ बोत्तल, २६५ बोत्तल विभिन्न ब्राण्डका रक्सी रहेका छन् ।

यस्तै आइफोन सिक्स र आइफोन सिक्स प्लस २६ थान, यार्सागुम्बा ७२६ ग्राम, टे«किङ गुड्स ११४० जोर जुत्ता, मोटर ट्रान्सफर्मर ३ पीस र इएफटी पिओस थर्मल ५०० थानको समेत लिलामी गर्न लागिएको छ । यस्तै क्रिकेट ह्याण्ड व्याग १५० थान समेत लिलामी हुन लागेको छ ।

भन्सारले सूचना प्रकाशित भएको मितिले १५ दिन अर्थात् फागुन ६ गतेसम्म रित पुगेको निवेदन दिई सम्पकर्क राख्न भनेको छ ।

बढाबढमा भाग लिने फर्मले भ्याट चुक्ता गरेको प्रमाणपत्र चुरोट मदिराको हकमा अन्तशुल्कको इजाजत लिएको थोक बिक्रेता हुनुपर्ने बताएको छ ।


पुष्प दुलाल