भवानी राणालाई पूर्वअध्यक्षहरुको पत्रः कृषि उद्यम केन्द्रको भ्रष्टाचार के हो ? प्रष्ट जवाफ देउ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरुले कृषि उद्यम केन्द्रमा भएको अनियमितता प्रकरण के हो ? त्यसको प्रष्ट जानकारी माग्दै महासंघ अध्यक्ष भनावी राणा र पदाधिकारीलाई पत्र पठाएका छन् ।

कृषि उद्यम केन्द्रमा भ्रष्टाचार भएको भन्दै आमसञ्चार माध्यममा समाचार आएपछि महासंघका सबै पूर्वअध्यक्षहरुको बैठक बसको थियो । बैठकले वर्तमान नेतृत्वलाई पत्राचार गरी प्रष्ट जानकारी लिने निर्णय गरेको थियो ।

पूर्वअध्यक्षहरुको संयुक्त बैठकले कृषि उद्यम केन्द्रमा अनियमितता भएको भन्ने समाचारले सिंगो निजी क्षेत्रको शाख गिरेको निष्कर्श निकालेको छ ।

‘अनियमितताको कुरा बाहिर छताछुल्ल भएपछि पूर्वअध्यक्षहरुको बैठक बसेको थियो, बैठकले अहिलेको नेतृत्वसँग प्रष्ट जानकारी माग्ने निर्णय गरेको थियो,’ महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीले क्लिकमाण्डूसँग भने, ‘महासंघ अध्यक्ष भवानी राणा र पदाधिकारीलाई सम्बोधन गरेर शुक्रबार प्रष्ट जानकारी माग्दै पत्र पठाएका छौं ।’

‘जहाँ चण्डी त्यहाँ अनियमितता,’ एक पूर्वअध्यक्षले भने, ‘चण्डीलाई बोक्ने भएर भवानीजी आफूत सकिनु भयो सकिनुभयो, महासंघलाई नै सक्ने हुनुभयो भन्ने चिन्ता लागेको छ ।’

पत्रमा अधिकांश पूर्वअध्यक्षहरुको हस्ताक्षर छ । कृषि उद्यम केन्द्रमा भ्रष्टाचार भएको भन्ने समाचारहरु बाहिर आउँदा महासंघको शाख गिरेको र त्यसले आफूहरुलाई समेत अफ्ठेरोमा पारेको निष्कर्श निकाल्दै पूर्वअध्यक्षहरुले यस्तो पत्र पठाएका हुन् ।

‘पछिल्लो समय जसरी महासंघमा अनियमितता भएको भन्ने समाचारहरु बाहिर आएका छन्, यसले समग्र निजी क्षेत्रको इज्जतमा धक्का लागेको छ,’ महासंघका पूर्वअध्यक्ष सुरज बैद्यले भने, ‘त्यसैले हामीले वर्तमान नेतृत्वसँग प्रष्ट जवाफ मागेका हौं ।’

महासंघको बारेमा नकरात्मक समाचारहरु आउँदा आफूहरुको चित्त दुखेको पूर्वअध्यक्षहरु बताउँछन् ।

‘कृषि उद्यम केन्द्रमा भएको अनियमिता प्रकरणप्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ किनभने हामीले पनि लामो समय त्यहाँ विताएका थियौं, त्यसैले महासंघको बारेमा नकरात्मक समाचा आउँदा हाम्रो चित्त दुख्छ,’ अर्का एक पूर्व अध्यक्षले भने, ‘नेतृत्वले प्रष्ट जवाफ दिनै पर्छ, होइन भने नैतिकताका आधारमा राजिनामा दिनुपर्छ ।’

अहिलेको महासंघको नेतृत्व नैतिकरुपमा पतन भइसकेको ती पूर्वअध्यक्षले ठोकुवा गरे ।

‘भवानीजीले बैंकको ऋण नतिरेर कालोसूचीमा परेका व्यवसायी चण्डीराज ढकाललाई बाकेर हिँडेकाले महासंघको बेइज्जत भयो,’ ती अध्यक्षले भने, ‘महासंघको नेतृत्व इतिहासमै सबैभन्दा कमजोर मात्रै भएन, नैतिकरुपमा पतन पनि भयो । जसको असर आम निजी क्षेत्रलाई परेको छ ।’

कृषि उद्यम केन्द्रमा अनियमितता भएको विषय छताछुल्ल भएपछि महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले राजिनामा दिएका छन् । प्रधानले यही माघ १३ गते कार्यकारिणी बैठकमै पदबाट राजिनामा दिएका थिए ।

कृषि उद्यम केन्द्रमा भएको अनियमितताको सूचना प्रधानले केही पत्रकारहरुलाई दिएका थिए । विभिन्न सञ्चारमाध्यममा अनियमितता भएको समाचार आएपछि अख्तियारले पनि छानविनको प्रक्रिया अघि बढाएको छ ।

माघ १३ गते महासंघकधो कार्यकारीणी बैठक बसेको थियो । बैठकमा महासंघ कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले पत्रकारलाई दिएको सूचनाको अडियो रेकर्ड हभ्यक्ष भवानी राणाले सुनाएकी थिइन् । त्यो रेकर्डमा भएको आवाप आफ्नो भएको स्वीकार गर्दै कोषाध्यक्ष प्रधानले पदबाट राजिनामा दिएका थिए ।

कार्यकारीणीका ३८ सदस्यले प्रधानका विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्ने भएपछि उनले पदबाट राजिनामा दिएको अध्यक्ष राणाले जानकारी दिइन् ।

महासंघको भित्रको कुरालाई मिडियाबाजी गरेको र अख्तियार लगाएको भन्दै राणा पक्षधर कोषाध्यक्ष प्रधानमाथि खनिएका थिए ।

कोषाध्यक्षले राजिनामा दिएपछि अनियमितताको विषयमा छाविन गर्न महासंघले कमिटि गठन गरेको छ ।

महासंघभित्र यस्तो खालको विवाद उत्पन्न भएपछि पूर्वअध्यक्षहरुले बैठक गरेका थिए । बैठकले महासंघको शाखमा गंभीर आँच आएको भन्दै वर्तमान नेतृत्वसँग प्रष्ट जानकारी लिन पत्र पठाउने निर्णय गरेको थियो ।


पुष्प दुलाल