नगद कारोबारमा थप कडाइ: देशभित्रै पनि एक पटकमा ६० हजारभन्दा बढी पठाउन नपाइने



काठमाडौं । नेपाल राष्ट्र बैङ्कले दशैभित्रै हुने नगद कारोबारलाई थप कडाइ गरेको छ । दिनमा एक पटक १ लाख रुपैयाँसम्म पठाउन पाउने प्रावधानलाई घटाएर राष्ट्र बैंकले ६० हजार रुपैयाँमा झारेको छ ।

नगद कारोबारलाई निरुत्साहित गर्ने उद्देश्यले देशभित्रै पनि एक व्यक्तिले अर्को व्यक्तिलाई एक दिनमा पठाउन पाउने रकमको सीमा तोकिएको राष्ट्र बैंकका सहप्रवक्ता गोविन्दप्रसाद नागिलाले जानकारी दिए ।

एकीकृत निर्देशनलाई संशोधन गर्दै राष्ट्र बैंकले शुक्रबार यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकको नयाँ व्यवस्थासँग अब एक व्यक्तिले अर्को व्यक्तिलाई एकदिनमा एकपटकमा ६० हजार रुपैयाँमात्रै रकम पठाउन सक्नेछन् ।

अर्थ मन्त्रालयले राष्ट्र बैङ्कका डेपुटी गभर्नर शिबराज श्रेष्ठ नेतृत्वमा बनेको मुद्रा बजार र पुँजी बजारका समस्या समाधान गर्न गठित समितिले पनि नगद कारोबार गर्न निरुत्साहित गर्नुपर्ने सुझाब दिएको थियो ।

‘समितिले दिएको सुझाब कार्यान्वयन गर्दै नगद कारोबारलाई निरुत्साहित गरिएको हो,’ नागिलाले क्लिकमाण्डूसँग भने ।


पुष्प दुलाल