बैंकर्स संघको बैठकः निक्षेप नवीकरण गर्दा बढी ब्याज दिन पाउने सहमति



काठमाडौं । नेपाल बैंकर्स संघको आइतबार बसेको बैठकले निक्षेप नविकरण गर्दा बढी ब्याज दिन पाउने समहति गरेको छ ।

गत साता सनराइज र एनसीसी बैंकले बैंकर्स संघले गरेको भद्र सहमति तोडेर ९.६५ प्रतिशत ब्याज दिएर नेपाल टेलिकमको निक्षेप नबीकरण गराएका थिए ।

‘नयाँ निक्षेप लिँदाजति मात्रै ब्याज दिँदा नविकरणमा समस्या आयो भन्ने धेरै सदस्यहरुले गुनासो गर्नुभयो, तसैले नविकरणमा केही बढी ब्याज दिनसक्ने समहति गरेका छौं,’ बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले क्लिकमाण्डूसँग भने ।

बैंकर्स संघको भद्र सहमति अनुसार संस्थागत निक्षेपकर्तालाई ९.५० प्रतिशतभन्दा बढी ब्याज दिन पाइँदैन ।

सेञ्चुरी बैंकले नयाँ संस्थागत निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिने स्किम ल्याएको थियो ।

बैंकर्स संघका अध्यक्ष ढुंगानाले सेञ्चुरीलाई कारबाही गर्ने भन्दै बैंकरहरुलाई भनेका थिए । तर, बैंकरहरुले नै बैंकर्स संघ कारबाही गर्ने निकाय नभएको बताएपछि संघ सेञ्चुरीलाई कारबाही गर्नबाट पछि हटेको हो ।

‘बैंकर्स संघ कारबाही गर्ने निकाय होइन, भद्र सहमति राष्ट्र बैंकले गराएको हो र तोड्नेलाई कारबाही पनि राष्ट्र बैंकले नै गर्छ भन्ने कुरा भएको छ,’ हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले भने, ‘आजको बैठकमा बाफियाको संसोधन प्रस्ताबमा के कस्ता सुझाब दिनुभन्ने विषयमा छलफल बढी केन्द्रित भयो ।’

संघका अध्यक्ष ढुंगानाका अनुसार पूरानो भद्र सहमतिलाई सबैले पालना गरेर अघि बढ्ने भन्ने विषयमा छलफल भएको छ ।

‘यसअघिको सहमति मानेर जाने भन्ने कुरा भयो,’ ढुंगानाले भने ।


पुष्प दुलाल