काठमाडौं । अब सेयर ब्रोकरहरुले नै सेयर धितो कर्जा (मार्जिन ल्याण्डिङ) दिन पाउने भएका छन् । धितोपत्र बोर्डले मार्जिन ल्याण्डिङ सम्बन्धी कार्यविधि संसोधन गर्दै ब्रोकर र ग्राहकबीचको आपसी सहमतिका आधारमा ब्याजदर निर्धारण हुने व्यवस्था गरेको छ ।
मार्जिन ल्याण्डिङ दिने भएपछि सेयर ब्रोकरहरु राष्ट्र बैंकमा दर्ता हुनुपर्ने भनेर राष्ट्र बैंकले भनेपछि धितोपत्र बोर्डले मार्जिन ल्याण्डिङको कार्यविधि रोकेर राखेको थियो । जसकारण उपभोक्ताहरुले सेयर धितो राखेर ब्रोकरबाट कर्जा पाउन सकेका थिएनन् ।
मार्जिन कारोबार सुविधा प्रदान गर्नुअघि ब्रोकरहरुले नेपाल धितोपत्र बोर्ड र नेप्सेलाई जानकारी दिनु पर्नेछ ।
धितोपत्र बोर्डले शुक्रबार जारी गरेको निर्देशनमा ब्याजदर बजारलाई छाडेपनि बोर्डले त्यसको प्रत्यक्ष अनुगमन गर्ने उल्लेख छ ।
बोर्डले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन २०७४ जारि गरेको थियो। निर्देशिका अनुसार नेप्सेले गत बैशाखमा मार्जिन कारोबार सुविधा सम्बन्धि कार्यविधि २०७५ को तयार गरेको थियो ।
तर, राष्ट्र बैंक ऐन अनुसार निक्षेप लिने र ऋण दिने काम गर्न राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने उल्लेख छ । त्यसैले, राष्ट्र बैंकले सेयर धितोमा कर्जा दिने ब्रोकरहरु राष्ट्र बैंकमा दर्ता हुनुपर्ने भनेको थियो ।
तर, धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले यो विषय पुँजीबजार सम्बन्धी भएको र पुँजी बजारको सबैभन्दा ठूलो निकाय बोर्ड भएको भन्दै राष्ट्र बैंकलाई भूमिका दिन मानेको थिएन ।
गभर्नर डा. चिरञ्जीवी नेपालले मार्जिन ल्याण्ङिको ब्याजदरमा आफूहरुले कुनै हस्तक्षेप नगर्ने बताएपछि बोर्डले मार्जिन कारोबार गर्ने ब्यवस्था खुलाएको हो ।
यो व्यवस्था भएसँगै सेयर ब्रोकरको दायरा विस्तार हुने र लगानीकर्तालाई एकै ठाउँबाट कारोवार सम्वन्धी सेवा प्राप्त हुने तथा दोस्रो वजार कारोवारमा तरलता अभिवृद्धि भई समग्र धितोपत्र वजारको विकास/विस्तार हुने वोर्डको विश्वास छ ।
प्रतिक्रिया