जिरी घुम्ने पर्यटकलाई हाेटलमा ५० प्रतिशत छुट



काठमाडौ ः दोलखाको पर्यटकीय नगरी जिरी भ्रमण गर्ने पर्यटकलाई होटलका कोठा भाडामा ५० प्रतिशत छुट दिइने भएको छ । आजदेखि लागू हुने गरी होटल व्यवसायीले जिरी भ्रमणमा आउने पाहुनाका लागि यस्तो घोषणा गरेका हुन ।

पर्यटकलाई जिरीमा आकर्षित गर्ने उद्देश्यले होटल व्यवसायीले जुनसुकै स्तरको होटलमा पनि चलनचल्तीको मूल्यमा कोठा भाडामा छुट अफर गरेको जिरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गेल्बु शेर्पाले जानकारी दिए । सगरमाथाको प्रवेशद्वारको रुपमा लिइने जिरी सडक विस्तार भएसँगै पुरानो व्यापार घटेर होटल व्यवसाय पनि सुस्ताउन थालेपछि व्यवसायी आफैँ सक्रिय भएका हुन ।

जिरीमा पर्यटन प्रवद्र्धनका लागि स्थानीय व्यवसायीको पहललाई स्थानीय सरकारले पनि साथ दिएको छ । जिरी नगरपालिकाले क्लिन जिरी, ग्रिन जिरी, अर्गानिक जिरी अभियान नै शुरु गरेको छ । नगरपालिकाले अहिले नगरको सरसफाइमा ध्यान दिएको नगर प्रमुख टङ्क जिरेलले जानकारी दिए । नगरपालिकाकै अगुवाइमा पर्यटन प्रवद्र्धन गर्न पूर्वाधार निर्माणका कामसमेत अघि बढाएको उनले बताए ।

जिरीमा पछिल्लो समय नयाँ होटल व्यवसायी पनि थपिँदै गएका छन । आधुनिक सेवासहित युवाले एक दर्जन होटल भूकम्पपछि थपिएका छन । पर्यटकको सेवाको पहिलो आधार होटल भएकाले होटल व्यवसायी सङ्गठित हुन थालेका छन । जिरीका होटल व्यवसायी भेला भएर केही दिनअघि वसन्त प्रधानको अध्यक्षतामा होटल सङ्घ जिरीसमेत गठन गरेका छन ।

“सगरमाथाको प्रवेशद्वार भनेर विदेशीलाई मात्र पर्यटक मानिन्थ्यो”, अध्यक्ष प्रधानले भने, “सडक खुलेपछि पर्यटक जिरीभन्दा पनि सोझै सल्लेरी र बाम्ती पुगेपछि जिरीका होटल र अन्य व्यवसायसमेत सुस्ताएपछि विकल्पको खोजीमा स्वदेशी पर्यटक लक्षित योजना अघि सारेका हौँ ।” जिरीमा पर्यटकको बसाइँ लम्ब्याउन स्थानीय गाइडको समेत व्यवस्था गर्न लागेको उनले जानकारी दिए ।

व्यवसायीले अहिले वैशाखसम्मका लागि छुट अफर दिए पनि त्यसको प्रभावका आधारमा कार्यक्रम आउने व्यवसायीले जानकारी दिए । माघ १५ देखि वैशाखको पहिलो सातासम्म कोठा भाडामा ५० प्रतिशत र खानाका परिकारमा समेत विशेष छुट गर्ने निर्णय भएको होटल व्यवसायीसमेत रहेका जिरी उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।


पुष्प दुलाल