काठमाडौं । शोधनान्तर स्थिति डरलाग्दो तरिकाले ऋणात्मक भएपछि राष्ट्र बैंकले विलासीताका वस्तुको आयातामा थप कडाइ गर्ने तयारी थालेको छ ।
चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा शोधनान्तर स्थिति ८५ अर्ब रुपैयाँले ऋणात्मक भएपछि सरकारले नै आयातित वस्तु कडाइ गर्ने नीति लिएको छ ।
‘पछिल्लो समयमा आयात ३४ र निर्यात ११ प्रतिशतले बढेकामा हाम्रोसामु अझै ठूलो चुनौती देखिएका छन्,’ राष्ट्रिय वाणिज्य बैंकको कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले भने, ‘शोधनान्तर घाटा चुलिएको छ । त्यसैले विलासिता र महँगा गाडी, हीरा र सुन आयातलाई थप नियन्त्रण गर्नुपर्ने अवस्था छ ।’
कार्यक्रकममा शिवाकोटीले सहुलियत कर्जाका विषयमा सर्वसाधारणबाट विभिन्न गुनासा आइरहेकाले अब जानकारी छैन, माथिको निर्देशन आएन भनेर आलटाल गर्न खोज्ने बैंकलाई कारवाही गरिने चेतावनीसमेत दिए ।
वाणिज्य बैंकको सेवा अब ७७ जिल्लामा
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आजदेखि मुलुकका सतहत्तरै जिल्लामा शाखा स्थापना गरी सेवा शुरु गरेको छ ।
यसअघि ७४ जिल्लाका शाखा कार्यालयमार्फत सेवा दिँदै आएको बैंकले आफ्नो स्थापनाको ५४औंँ वार्षिकोत्सवका अवसरमा आज तीन जिल्लामा शाखा विस्तार गरेको हो ।
जाजरकोट, रुकुम र मुस्ताङमा आजदेखि सञ्चालनमा आएको शाखाको कावा प्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौँमा डिजिटल प्रविधिबाट उद्घाटन गरे ।
बैंकको पुल्चोक, नक्साल र हेटौँडा शाखालाई आजै ‘स्मार्ट शाखा’का रुपमा रुपान्तरण गरिएको छ । यस वर्ष २० भन्दा बढी शाखालाई स्मार्ट शाखा बनाउने योजना बैंकले अघि सारेको छ ।
नयाँ शाखा विस्तारसँगै सबै जिल्लामा गरेर २१७ शाखाबाट सेवा सञ्चालन भएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए ।
विसं २०२२ मा आजकै दिन स्थापित बैंकको ५४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले सबल र कमजोर पक्षलाई समीक्षा गर्दै नेपाल राष्ट्र बैंकको निर्देशनानुसार जनताको सेवामा चुस्त भएर लाग्न आग्रह गरे ।
वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सरकारी बैंक सबैको भरोसाको बैंक भएकाले सेवा उपलब्ध गराउने विषयमा गम्भीर हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले २०६० सालमा २२ अर्ब ऋणात्मक रहेको बैंकको पूँजीकोष गत पुस मसान्तसम्ममा रु २२ अर्बले धनात्मक भएको जानकारी दिए ।
चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा बैंकको निक्षेप रु एक खर्ब ८२ अर्ब र कर्जा लगानी रु एक खर्ब ३४ अर्ब रहेको एवं ट्रेजरी बिल तथा अन्य लगानी रु ४५ अर्ब रहेको श्रेष्ठले जानकारी दिए ।
बैंकको कूल सम्पत्ति रु दुई खर्ब चार अर्ब पुगेको जानकारी दिँदै उनले यस पटकको खुद नाफा रु एक अर्ब ९६ करोड रहेको उल्लेख गरे ।
आज सार्वजनिक विवरणानुसार वाणिज्य बैंकमा ३० लाखभन्दा बढी ग्राहक पुगेका छन् । सात लाख ५० हजारभन्दा बढीले मोबाइल बैंकिङ एप्लिकेशन प्रयोग गरिरहेका छन् ।
प्रतिक्रिया