७० प्रतिशतले नाफा बढाउँदै ६ महिनामै अर्बपति बन्यो प्रभु बैंक, प्रतिसेयर आम्दानी २५ रुपैयाँ
काठमाडौं । प्रभु बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार १ अर्ब ८ करोड १२ लाख १५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
गत आवको सोहि अवधिको तुलनामा बैंकको नाफा ७०.२८ प्रतिशतले बढेको छ । गत आवको सोहि अवधिमा बकैंकको नाफा ६३ करोड ४९ लाख ५३ हजार रुपैयाँ रहेको थियो ।
बैंकको नाफा बढनमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफाले सहयोग गरेको छ । गत आवको सोहि अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी ७६.८४ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा ६०.६९ प्रतिशतले बढेको छ ।
चालु आवको दोस्रो त्रैमासमा २ अर्ब १५ करोड ३० लाख ६१ हजार खुद ब्याज आम्दानी गरेको बैंकले गत आवमा १ अर्ब २१ करोड ७४ लाख ५७ हजार मात्र आर्जन गरेको थियो ।
यस्तै चालु आवको यो अवधिमा १ अर्ब ३३ करोड १८ लाख ४८ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको बैंकले गत आवको सोहि अवधिमा ८२ करोड ८८ लाख २९ हजार रुपैयाँ मात्र आर्जन गरेको थियो ।
गत आवको दोस्रो त्रैमासमा ५ अर्ब ८८ करोड १४ लाख २ हजार चुक्ता पूँजी रहेको बैंकले चालु आवको सोहि अवधिमा यसलाई बढाएर ८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोष ४ अर्ब ७२ करोड २० लाख ९७ हजार रहेकोमा यो अवधिमा आईपुग्दा ५ अर्ब ६० करोड १२ लाख ४ हजार रुपैयाँ पुगेको छ ।
१ खर्ब ४ अर्ब ९८ करोड १३ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ८८ अर्ब १५ करोड ९८ लाख ६९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोहि अवधिमा बैंकको खराब कर्जा निकै घटेको छ ।
गत आवको सोहि अवधिमा ४.१२ प्रतिशत खराब कर्जा रहेको बैंकको चालु आवको यो अवधिमा आईपुग्दा २.४७ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३१ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ३ पैसा रहेको छ ।