भन्सारका कर्मचारी तस्करसँग मिलेपछि भैरहवा नाकाबाट उठ्ने राजस्व घट्यो



भैरहवा । मुलुकै दोस्रो ठुलो तथा पाँच नम्बर प्रदेशको पहिलो भन्सार नाका भैरहवा भन्सार कार्यालयले लक्ष्य अनुसारको राजश्व असुली गर्न असफल हुँदै गएको छ । भैरहवा भन्सारको कर्मचारीको तस्करसगँको मिलोमतोमा हुने राजश्व चुहावटको कारण कार्यालयले लक्ष्य अनुसारको राजश्व असुली गर्नमा असफल हुँदै गएको देखिएको हो ।

तस्करको प्रलोभनमा कर्मचारीहरुले आयात हुने साम्रगीको न्युन विजिकरण र एउटै प्रज्ञापन पत्रबाट पटक पटक बिनाभन्सार साम्रगी लैजाने छुट दिँदा लक्ष्य अनुसारको राजश्व असुली हुन नसकेको सरोकारावालाहरु बताउँछन् ।

‘भन्सारका कर्मचारीहरु नै तस्करसँग मिलेर सामान कटाउँछन्,’ स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘जसकारण पछिल्लो समय यो नाकाले लक्ष्य पूरा गर्न सकेको छैन ।’

७ महिनामा २४ अर्ब बाँकी

कार्यालयले चालु आर्थिक वर्ष ०७५/०७६ को मंसिर मसान्तसम्म असोज महिनामा मात्र लक्ष्य भन्दा बढी असुली गरेको छ । लक्ष्य भन्दा बढी असुली गर्नु कार्यालयको लागि निकै राम्रो मानिन्छ । तर कार्यालयले लक्ष्य अनुसारको समेत राजश्व असुली गर्न सकेको छैन ।

कार्यालयले चालु आवको ५ महिनामा ३७ दशमलव ४३ प्रतिशत मात्र राजश्व असुली गरेको छ । जबकी उसलाई ५ महिनामा ३८ दशमलव ९४ प्रतिशत राजश्व असुली गर्ने लक्ष्य दिइएको थियो । कार्यालयले ५ महिनामा लक्ष्य भन्दा २१ करोड ९२ लाख ९२ हजार रुपैयाँ राजश्व असुली गर्न असफल भएको छ ।

उसले अबको ७ महिनामा लक्ष्य अनुसार राजश्व असुली गर्न २३ अर्ब ८८ करोड ४७ लाख २७ हजार रुपैयाँ (६२ दशमलव ५७ प्रतिशत) बाँकी छ । कार्यालयले लक्ष्य अनुसार प्रत्येक महिनामा ३ अर्ब ४१ करोड २१ लाख ३ हजार ८ सय ७५ रुपैयाँको दरले राजश्व असुली गर्नुपर्ने देखिएको छ ।

प्रत्येक महिनामा असुली कम

चालु आवको साउन महिनामा २ अर्ब ६७ करोड १९ लाख ३ हजार राजश्व असुलीको लक्ष्य पाएकोमा २ अर्ब ६५ करोड ८५ लाख ६३ हजार (९९ दशमलव ५० प्रतिशत) राजश्व असुली भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलले जानकारी दिए ।

भदौ महिनामा ३ अर्ब ५ करोड ३६ लाख चार हजार राजश्व असुलीको लक्ष्य पाएकोमा २ अर्ब ८९ करोड ६७ लाख एघार हजार (९४ दशमलव ८६ प्रतिशत) रुपैयाँ मात्र राजश्व संकलन गरेको छ ।

त्यस्तै असोज महिनामा २ अर्ब ६७ करोड १९ लाख ३ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य पाएकोमा कार्यालयले यो महिनामा लक्ष्य भन्दा बढी ३ अर्ब ७४ करोड ९२ लाख ५ हजार रुपैयाँ (१४० दशमलव ३२ प्रतिशत) राजश्व संकलन गरेको भन्सार कार्यालयले जनाएको छ । असोज महिनामा दशै–तिहार पर्व रहेकोले कार्यालयले लक्ष्य भन्दा बढी राजश्व असुली गरेको हो ।

दुई महिना झनै खराब

यस्तै कार्यालय कार्तिक र मंसिर महिनामा राजश्व असुली गर्नमा झ्न खस्किदै गएको देखिएको छ । यो भन्दा अघिल्लो महिनाहरुमा कार्यालयले लक्ष्य अनुसारको राजश्व असुली गर्न नसकेपनि लक्ष्य नजिक पुग्दै आएको थियो । तर पछिल्लो यो दुई महिना कार्तिक र मंसिरमा लक्ष्य भन्दा धेरै टाढा पुगेको छ ।

असोज महिना संकलन भएको राजश्व भन्दा पछिल्लो यो दुई महिनामा करिब ४२ प्रतिशतले असुली खस्किएको छ । भन्सार कार्यालयको प्रमुख रुपमा कमल भट्टराई आएपश्चात राजश्व असुली झ्न खस्किदै गएको हो ।

नयाँ भन्सार प्रमुख आउँदा राजश्व असुलीमा र भन्सारको कार्यमा सुधार आउने आशा गरिएपनि झ्न बिग्रदै गएको तथ्यांकले पुष्टि गरेको छ ।

कार्यालय प्रमुख भट्टराई आएको कार्तिक महिनामा ३ अर्ब ५ करोड ३६ लाख चार हजार राजश्व असुली लक्ष्य रहेकोमा ह्वात्तै घटेर २ अर्ब ५१ करोड ७८ लाख ५५ हजार (८२ दशमलव ४६ प्रतिशत) रुपैयाँ राजश्व मात्र संकलन भएको भन्सार कार्यालयबाट प्राप्त तथ्यांकमा उल्लेख छ ।

त्यस्तै मंसिर महिनामा पनि ३ अर्ब ५ करोड ३६ लाख चार हजार राजश्व असुली लक्ष्य रहेकोमा कार्तिक महिना भन्दा पनि कम २ अर्ब ४६ करोड २९ लाख ९२ हजार (८० दशमलव ६६ प्रतिशत) रुपैयाँ मात्र राजश्व असुली भएको छ ।

गत वर्ष पनि उस्तै

कार्यालयका अनुसार गत आर्थिक वर्ष ०७४/०७५ मा कार्यालयले ८१ अर्ब ४३ करोड राजश्व संकलनको लक्ष्य पाएपनि ७० अर्ब ८ करोड २४ लाख रुपैयाँ मात्र राजश्व असुली गरेको थियो । यो असुलीको ८६ दशमल शून्य चार प्रतिशत हो ।

कार्यालयले करिब साढे ११ अर्ब राजश्व संकलन गर्नमा असफल भएको थियो । कार्यालयले गत वर्षभरी मध्ये असोज र जेठ महिनामा मात्र मासिक लक्ष्य अनुसार राजश्व संकलन गर्न सफल भएको थियो भने बाँकी १० महिनामा लक्ष्य पुरा गरेको थिएन ।

गाडी र कच्चा पदार्थबाट बढी असुली

सबैभन्दा बढी सवारी साधन, औद्योगिक कच्चा पदार्थ, इन्धन, मार्वल, चामल तथा कनिका, चकलेट लगायतबाट राजश्व संकलन हुने गरेको छ । सबै भन्दा बढी जीप, कार र भ्यानहरुबाट राजश्व असुली भएको हो ।

चालु आवको मंसिर मसान्तसम्म ३ हजार ५ सय ५५ वटा जीप, कार र भ्यान २ अर्ब ४८ करोड ९८ लाख १२ हजार मूल्य बराबरको आयात हुदाँ ५ अर्ब २९ करोड ९० लाख ८५ हजार रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

यस्तै दोस्रो नम्बरमा ५ अर्ब ४ करोड ५७ लाख ५८ हजार मूल्य बराबरको ६१ हजार ६ सय ६२ वटा मोटरसाइकल आयात हुदाँ ५ अर्ब १८ करोड ९ लाख ६६ हजार रुपैयाँ राजश्व असुली भएको छ ।

यस्तै सबैभन्दा बढी राजश्व असुलीको तेस्रो नम्बरमा एम.एस.विलेट (औद्योगिक कच्चा पदार्थ) रहेको छ । १२ अर्ब ३६ करोड ११ लाख ६४ हजार मूल्य बराबरको २० करोड ४१ लाख ६३ हजार ३ सय १६ किलोग्राम एम.एस.विलेट आयात हुदाँ २ अर्ब २६ करोड ४९ लाख ३१ हजार राजश्व संकलन भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

आयातमा कमी हुदाँ असुली घट्यो: भन्सार

यता भैरहवा भन्सार कार्यालयका प्रमुख कमल भट्टराईले साम्रगी आयातमा कमी हुदाँ राजश्व संकलनमा कमी भएको दावी गरे ।

उनले दशै तिहारमा व्यापारीले बढी साम्रगी आयात गर्दा असोज महिनामा राजश्व असुली बढेको र सोही साम्रगी अहिले सम्म पनि उपभोग भइरहेकोले नयाँ साम्रगीको आयातमा कमी हुदाँ राजश्व असुली प्रभावित भएको बताए ।


पुष्प दुलाल