सिटिजन्स बैंकको प्रदेश नं ७ को प्रादेशिक कार्यालय धनगढीमा खुल्यो
काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनलले प्रदेश नं ७ को प्रादेशिक कार्यालय धनगढीमा स्थापना गरेको छ ।
उक्त कार्यालयको आरम्भ समारोहमा उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रदेश नं ७ अन्तर्गत बैंकका ५ वटा शाखाहरुबाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ ।
प्रदेश नं ७ मा रहेका ९ जिल्ला मध्ये ४ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । हाल यस बैंकका बझांङ, अछामको ढकारी, धनगढी, महेन्द्रनगर र कैलालीको मोहन्यालमा शाखा रहेका छन ।
यस अगावै बैंकले प्रादेशिक कार्यालयहरु ः प्रदेश नं १ को बिराटनगरमा, प्रदेश नं २ को बीरगंजको आदर्शनगरमा, प्रदेश नं ४ को पोखराको सिमलचौरमा, प्रदेश नं ५ को नेपालगंजमा, र प्रदेश नं ६ को सुर्खेतमा स्थापना गरिसकेको छ ।