प्रधानमन्त्री ओली भन्छन्ः आर्थिक सुचक सकारात्मक रुपमा अघि बढेको छ




काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको चौतर्फी आक्रमणका बीच पनि चालू आर्थिक वर्षको पाँच महीनामा आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले चालू आवको पाँच महिनामा राजश्व सङ्कलन ३२ प्रतिशत र पूँजीगत खर्च २५ दशमलव तीन प्रतिशतले वृद्धि भएको तथा सरकारी खर्च गत वर्षको तुलनामा २० प्रतिशतले कमी रहेको जानकारी दिए ।

उनले सो अवधिमा मूल्य वृद्धि ३ दशमलव ७ प्रतिशत रहेको, वैदेशिक सहायता एक खर्ब ६२ अर्ब ७२ करोड रुपैयाँ प्राप्त भएको, उद्योग व्यवसायमा २५ प्रतिशत लगानी वृद्धि भएको तथा व्यापारघाटा एक दशमलव शून्य पाँच प्रतिशत घटेको पनि जानकारी दिए ।

आगामी फागुन २१ गतेभित्र सङ्घीयतानुकूल नभएका कानून संशोधन गर्नुपर्नेमध्ये १६५ कानूनमा संशोधन तयार भएको जानकारी दिँदै उनले मौलिक हकका कानून बनी कार्यान्वयनमा आएको बताए । पशु बीमा कार्यक्रम सम्बन्धित विभागलाई प्रदान गरिएको, प्रधानमन्त्री रोजगारी कार्यक्रम शुरु गरिएको, राष्ट्रपति चुरे कार्यक्रम जारी रहेको र समस्या देखिएका केही परियोजनामा विशेष निगरानी राखिएको प्रधानमन्त्री ओलीले बताए ।

द्रुत मार्गको प्रगति उत्साहजनक
द्रुत मार्गको प्रगति उत्साहजनक रहेको बताउँदै प्रधानमन्त्री ओलीले सम्पूर्ण सूचना एकीकरण गर्ने कार्य भइरहेको, अनुगमनमाथि अनुगमन गर्ने प्रणाली शुरु गरिएको, राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा डिजिटल एक्सन रुम स्थापना गर्न लागिएको पनि सुनाए । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन सिङ्गो सदनको काम भएको उनको दाबी छ ।

प्रधानमन्त्रीका अनुसार राष्ट्रिय परिचयपत्र विभाग नयाँ स्थापना भएको छ । यसै वर्ष धेरै नेपालीलाई परिचयपत्र दिइनेछ । पचहत्तर वर्ष नाघेकालाई १०० रुपैयाँ दिई शुरु गरिएको सामाजिक सुरक्षा कार्यक्रमले गुणात्मक फड्को मारेको छ ।

श्रमजीवी पत्रकारको पारिश्रमिक २५ प्रतिशतले वृद्धि गरिएको, जनकपुर र वीरगञ्जबाट श्रम स्वीकृति दिन शुरु गरिएको, सुरक्षित र एकीकृत नागरिक आवास कार्यक्रम ल्याइएको तथा १७ हजार घर जनता आवास कार्यक्रमबाट बनाई हस्तान्तरण गरिएको उनले जानकारी दिए ।

प्रधानमन्त्रीका अनुसार सरकार गठन भएपछि २६ हजार नयाँ ग्राहकलाई विद्युत वितरण गरिएको छ । यही पुस १९ गते नदी सफाइका लागि बालकुमारीमा ढल प्रशोधन केन्द्र निर्माणको शिलान्यास भएको जानकारीसमेत उनले सुनाए ।

कोदारी राजमार्ग आागामी वैशाखदेखि सञ्चालनमा ल्याइने प्रधामन्त्री ओलीको भनाइ थियो । रेलको सपना पूरा गर्न रसुवागढी– काठमाडौँ, काठमाडौँ– लुम्बिनी र वीरगञ्ज –काठमाडौँको सम्भाव्यता अध्ययन हुँदै गरेको बताउँदै उनले आगामी २०७६ साल वैशाखसम्म नेपालको आफ्नो भूउपग्रह बनाउने तयारी गरिएको जानकारी दिए ।

यातायात प्राधिकरण गठन गरिँदै
‘भूकम्पपछिको पुनःनिर्माणमा तीन लाख ३८ हजार १४७ घर बनेका छन्, सत्र वटा तुइन यसै वर्ष हटाइने कार्यक्रम छ । उच्चस्तरीय शिक्षा आयोगले काम अन्तिम चरणमा पु¥याएको छ । आगामी वर्षसम्म नेपाललाई पूर्ण साक्षरता बनाउन विशेष कार्यक्रम ल्याइँदैछ । यातायात क्षेत्रको एकाधिकार अन्त्य भएकाले प्राधिकरण गठन गरी व्यवस्थापनको तयारी शुरु भएको छ,’ प्रधानमन्त्री ओलीले भने ।

अपराध न्यूनीकरण गर्न ९६ प्रतिशत सफलता प्राप्त भएको प्रधानमन्त्री ओलीको जिकिर थियो । सुन तस्करीमा संलग्न ४६ जना पक्राउ परेको, कोलकातामा समातिएको ३३ किलो सुनको अनुसन्धान भइरहेको तथा लामो समयदेखि फरार रहेका ७३२ जना पक्राउ परेको जानकारी उनले दिए ।

प्रतिपक्षलाई रचनात्मक बन्न आग्रह
राष्ट्रपति निवासका सम्बन्धमा शुरु गरिएको विवाद गणतन्त्रमाथिकै आक्रमण भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘सांसदलाई अपमान गर्नुका पछाडिको उद्देश्य प्रणालीप्रतिको हमला हो, प्रणालीमा आँच आए लोकतन्त्र खतरामा पर्छ, प्रतिपक्षलाई सकारात्मक र रचनात्मक बन्न आग्रह गर्छु, सरकारको नीतिमा भेदभाव हुनु उचित हुन्न, यसप्रति म सजग छु,’ उनले भने ।

प्रमुख प्रतिपक्षीले कर्मचारी समायोजन अध्यादेश कर्मचारी वृत्तिविकासमा अवरोध गरेको बारे बताउँदै उनले ‘पानीलाई धमिलो पार्ने र माछा मार्ने रहर नगर्दा नै बेस होला’ भने । प्रतिक्रियात्मक नभई रचनात्मक बन्न पनि उनले आग्रह गरे ।

प्रधानमन्त्री ओलीले मुलुकको विकास निर्माण र राष्ट्रिय गौरवका आयोजनाका प्रगति विवरण प्रस्तुत गर्दै ‘पछिल्लो समय मैले अनौठो अनुभूति गरेको छुु, खोई काम गरेको भन्ने प्रश्न उठ्छ, मुलुकको विकास गर्नुछ, अब पनि नगरे कहिले गर्ने, हामीले नगरे कहिले गर्ने, जनताले बहुमतको सरकार दिएको छ, म कुनै तर्कमा अल्झन चाहन्न, रङ्गीबिरङ्गी प्रश्नलाई सम्बोधन गर्नुभन्दा पनि बजेट कार्यक्रमको समीक्षामा चर्चा गर्न चाहन्छु,’ उनले भने ।

तर्कवितर्क, र वादविवादमा रुचि नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विकास निर्माणमा अघि बढ्न सबैलाई आह्वान गरे । प्रधानमन्त्री ओलीले प्रतिपक्षलाई रचनात्मक र प्रभावकारी भई आर्थिक विकासमा ऐक्यबद्ध भई अघि बढ्न पनि आग्रह गरे । रासस


क्लिकमान्डु