निर्यातकर्ताको गुनासोः बैंकबाट ७%मा लिएको ऋणको ब्याज १५ % पुग्यो, घटाउनु पर्यो



काठमाडौं । नेपाली निर्यातकर्ताको प्रतिनिधिमूलक संस्था नेपाल निर्यात परिषद्ले बैंकको चर्को व्याजदरले निर्यातजन्य उद्योग बन्द हुने अवस्था सृजना भएको गुनासो गर्दै त्यसलाई घटाउन माग गरेका छन् ।

यही पुस २२ गते राजधानीमा आयोजना हुने निकासी दिवसका सन्दर्भमा परिषद्ले आज पत्रकार सम्मेलन गरी ७ प्रतिशत व्याज तिर्नेगरी लिइएको व्याज १५ प्रतिशत पुगेकाले बैंकको व्याज घटाउन सरकारबाटै प्रयास हुनुपर्नेमा जोड दिएको छ ।

परिषद्का अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले निर्यातकर्ताले धेरै समस्या झेल्नुपरेको दुखेसो गर्दै चर्को व्याजदरले निकासीजन्य उद्योग थला परेका बताए ।

उनले औद्योगिक व्यवसाय ऐन, बोनस ऐन, मदिरा ऐन र उपभोक्ता ऐन निजी क्षेत्रमैत्री नभएको मर्का सुनाउँदै तिनको संशोधन अपरिहार्य भएको बताए ।

परिषद्ले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र नेपाल हस्तकला महासङ्घसँगको सहकार्यमा आगामी आइतबार राजधानीमा हुने विशेष छलफलमा निकासी प्रवद्र्धनका निम्ति सरकारले उपलब्ध गराएका सहुलियत, करका प्रावधान, सामाजिक सुरक्षा कोष, भन्सारका जटिलता र राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा आयोजना हुने प्रवद्र्धनात्मक मेलाबारे विचारविमर्श हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए । रासस


पुष्प दुलाल