‘गणतन्त्रकी राष्ट्रपति राजाभन्दा महँगी !’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिसमशेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारीको विलाशीपनले मुलुकमा नयाँ प्रश्न जन्माएको टिप्पणी गरेका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘गणतन्त्रकी राष्ट्रपति किन महंगी बन्दै हुनुहुन्छ ? करोडौंका गाडी चाहिने ? अर्बौको हेलिकप्टर खरिद गर्नुपर्ने ? अहिलेको विशाल शितलनिवास राष्ट्रपतिज्यूलाई सानो भयो अरे ? प्रहरी तालिम केन्द्रपनि उहाँलाई नै चाहिने भयो भन्ने सुनिँदैछ, यो कस्तो विलाशी हो ?’
राजतन्त्रको बेलामा नभएका दृश्यहरु गणतन्त्रमा देख्न पाईएको भन्दै उनले आक्रोश पोखे ।
‘राष्ट्रपतिलाई सुविधानै सविधा चाहिने अनि दशैंमा जनतालाई घुँडा टेकाउने ? यस्तो राष्ट्रपतीय प्रणालीले के गर्न खोज्दैछ ? अब शंका जन्मिँदैछ ।’’ राणाले भने ।
अध्यक्ष राणाले दुईतिहाई बहुमतको वर्तमान सरकारले सिन्कोसमेत भाँच्न नसकेको गम्भिर आरोप लगाएका छन् । राणाले २०४७ सालपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा बनेको सबैभन्दा शक्तिशाली वर्तमान सरकारले काम गर्न नसकेको भन्दै यस्तो आरोप लगाएका हुन ।
‘२०४७ सालपछि बनेको सबैभन्दा बलियो भनिएको वर्तमान सकारले जनताको पक्षमा काम गर्न सकेको छैन् । जनताको बारेमा चिन्ता गर्न सकेको छैन्, यो मेरो आरोप होईन, सत्य हो, नेकपाको सचिवालय बैठकमा समेत सरकारका कामकारबाहीको बारेमा नेताहरुले असन्तुष्टि पोख्नुभएको छ ।’ उनले भने ।
‘नेपाललाई हिन्दुराज्य कायम गर्नुको विकल्प छैन’
राणाले नेपाललाई हिन्दुराज्य कायम गर्नुको विकल्प नभएको पनि दाबी गरेका छन् । उनले नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दुराज्यको बारेमा बहस हुनुले सकारात्मक सन्देश प्रवाह गरेको भन्दै प्रजातन्त्रवादीहरु अब एक ठाउँमा उभिनुपर्ने समय आएको पनि बताए ।
उनले अघि थपे,‘कांग्रेसले मुलुकको राष्ट्रियता, धर्म, संस्कृति र पहिचानको बारेमा चिन्ता गरेको देखिन्छ, तर मुलुकलाई हिन्दुराज्य बनाउनेमा कांग्रेस उभिन्छ या उभिँदैन त्यो उसको कुरा हो, म त भन्छु प्रजातन्त्रवादीहरु एक ठाउँमा उभिनुपर्छ, देशलाई जोगाउनुपर्छ, सन्तुलित परराष्ट्र नीति बनाएर देश चलाउनुपर्छ ।’
अध्यक्ष राणाले वर्तमान सरकार ‘होली–वाईन’ खान र नक्कली क्रिश्चियनहरुको काखमा सुत्न गएको पनि आरोप लगाए । उनले भने,‘दुई तिहाई बहुमतका प्रधानमन्त्री केपी ओली तीन दिनसम्म ‘होली–वाईन’ खाएर नक्कली क्रिश्चियनहरुको काखमा सुत्नुभयो, योभन्दा लाजमर्दो अर्को कुरा के हुन सक्छ ? योभन्दा धार्मिक रुपमा हामीमाथि अर्को खतरा के हुन सक्छ ?’
‘महेन्द्र र विपी एक जंगलका दुई शेर’
राणाले राजा महेन्द्र शाह र विपि कोइरालालाई एउटा जंगलका दुई शेरको संज्ञा दिएका छन् । साथै, उनले आफु र आफ्नो पार्टीले ईतिहासमा देशको लागि योगदान दिएका व्यक्ति र संस्थालाई सम्मान गर्ने पनि बताए ।
उनले भने,‘२००७ सापछि नेपाली धर्तीमा दुई महान व्यक्तिहरुको उपस्थिति रह्यो, राजा महेन्द्र र विपि कोईराला, उहाँहरु एक जंगलका दुईवटा शेर हुनुहुन्थ्यो, भारत निर्वासनमा बस्नुभएका विपिले राष्ट्रियतालाई शीरमा राखेर स्वदेश फर्किनुभयो, राजसंस्थाबिनाको राष्ट्रियताले कमजोर बन्छ भन्ने उहाँको दृष्टिकोण थियो, व्यक्तिगत रुपमा महेन्द्र र विपिका बीचमा टकराव भएपनि उहाँहरु दुरदर्शी नेता हुनुहुन्थ्यो, राष्ट्र र राष्ट्रियताका बारेमा एक ठाउँमा हुुनुहुन्थ्यो ।’
आज मेलमिलाप दिवस भएको उल्लेख गर्दै उनले कांग्रेसले विपिको सम्मानको लागि नेपाललाई हिन्दुराज्य कायम गर्ने प्रयास गर्नुपर्ने सुझाव दिए ।
उनले भने,‘हामीले ईतिहासमा मुलुकलाई योगदान पु¥याउने सम्पूर्ण वीर पुरुषहरुलाई सम्मान गर्नुपर्छ ।’
उनले अघि थपे,‘महेन्द्रको कालमा विपिले जनमतसंग्रह माग्नुभयो, त्यो सम्पन्न भयो, त्यसपछि राजा वीरेन्द्रको पालामा गलत सल्लाहकारका कारण नेपालको राजनीतिक र राष्ट्रियता कमजोर बन्यो, त्यसपछिको समय झनै गम्भिर बन्दै गएको छ, वर्तमान दुई तिहाईको सरकारले विदेश नीतिलाई सन्तुलित राख्न सकेको छैन्, आज सरकारको यही कमजोरीका कारण देश खतराको बाटोतर्फ जाँदैछ ।’