ओली र लेखकलाई आइतबार अदालतमा पेस गरिने, दुबै जनालाई सशस्त्र प्रहरीको २ नम्बर गणमा राख्ने तयारी

434
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार अदालत पेस गरिने भएको छ ।

शनिबार अदालत बिदा हुने भएकाले उनीहरूलाई प्रहरीले थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै आइतबार अदालतमा पेस गर्नेछ ।

प्रहरीको थुनामा राखेर अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं हुँदै जिल्ला अदालत काठमाडौं पेस गरिने छ ।

प्रहरीले ओली र लेखक दुवै जनालाई २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ । तर, त्यसका लागि आइतबार जिल्ला अदालतले अनुमति दिनुपर्ने हुन्छ ।

यसैबीच ओली र लेखकलाई महाराजगन्जस्थित सशस्त्र प्रहरी २ नम्बर गणमा राख्ने तयारी भएको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी परिसरका एक अधिकारीले दिएको जानकारीअनुसार दुवै नेतालाई स्वास्थ्य परीक्षणपछि महाराजगन्जमा रहेको २ नम्बर गणमा लैजाने तयारी गरिएको छ ।

ओली र लेखकलाई प्रहरीले शनिबार बिहान भक्तपुरबाट पक्राउ गरेको थियो ।

पक्राउपछि उनीहरूलाई प्रहरी परिसर काठमाडौं हुँदै अस्पताल लगिएको थियो । अस्पतालमा चेकजाँचपछि २ नम्बर गणमा राख्ने तयारी भएको प्रहरीले जनाएको छ ।

ओली र लेखक दुवैलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनाको सत्यतथ्य बुझ्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले आज बिहान ओली र लेखकलाई भक्तपुरबाट पक्राउ गरेको थियो ।

कार्की आयोगले लापरबाही र हेलचेक्र्याइँका कारण जेनजी आन्दोलनका क्रममा मानिसहरूको मृत्यु भएको भन्दै त्यसमा तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुबेर खापुङविरुद्ध अनुसन्धान गरी अभियोजन गर्न सिफारिस गरेको थियो ।