डोटीमा नगरपालिकाले नै चलायो नगरबस सेवा, सार्बजनिकभन्दा २५ प्रतिशत सस्तो




डोटी । डोटीको शिखर नगरपालिकाले नगरवासीलाई सस्तो र सुलभ रुपमा यातायात सेवा उपलब्ध गराउनका लागि नगर बस सेवा सञ्चालनमा ल्याएको छ । उक्त नगर बस सेवाको शिखर नगरपालिकाका प्रमुख सीताराम जोशीले एक कार्यक्रमबीच शुभारम्भ गरे ।

नगरपालिकाले खरीद गरेको २६ सिट पास रहेको उक्त दुई वटा नगर बसले दिपायलदेखि डडेल्धुराको कोरायल खोलासम्म सेवा दिने नगर प्रमुख सीताराम जोशीले जानकारी दिए । नगरपालिकाद्वारा सञ्चालनमा ल्याइएका नगर बसमा भाडा सार्वजनिक यातायातभन्दा २५ प्रतिशत सस्तो रहेको नगरपालिकाले जनाएको छ ।

नयाँ सङ्घीय संरचनामा साबिकको नौवटा गाउँ विकास समिति समावेश गरेर शिखर नगरपालिका घोषणा गरिएको थियो । कूल ५६ लाख ६० हजार रुपैयाँको लागतमा खरीद गरिएका नगर बसले नगरवासीलाई गुणस्तरीय सेवा दिने शिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत बिनाडीका अनुसार नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनको लागि एम्बुलेन्स खरीद गर्ने प्रक्रिया अघि बढाइएको र नगरपालिकाको खरीद नियमावली अनुसार ३८ लाख ६९ हजार रुपैयाँमा एक टिपर र ३६ लाख ९५ हजारमा पिकअप गाडी खरीद गरिएको छ ।

यसअघि डोटीकै दिपायल सिलगढी नगरपालिकाले सञ्चालनमा ल्याएका नगर बस सेवाबाट पनि डोटीका नगरवासी प्रत्यक्ष लाभान्वित भइरहेका छन् । रासस


क्लिकमान्डु