पुनर्निर्माणका तीन वर्षः जनताका घरमा कम र सरकारी कार्यालय बनाउन बढी प्रगति




काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण र पुनर्स्थापनाका क्षेत्रमा तीन वर्षमा भएका उपलब्धी र आगामी दुई वर्षे योजना सार्वजनिक गरेको छ ।

स्थापनाको तीन वर्ष पूरा भएको अवसरमा पत्रकार सम्मेलन गरी प्राधिकरणले पुनर्निर्माण सम्पन्न र निर्माणाधीन गरी निजी आवास पुनर्निर्माणमा ७७ प्रतिशत प्रगति हासिल भएको जानकारी दिएको छ ।

जसमा ४५ प्रतिशत घर पुनर्निर्माण सम्पन्न भएका छन् भने ३२ प्रतिशत पुनर्निर्माणको क्रममा छन् ।

प्राधिकरणले ७ लाख ४२ हजार १ सय ३५ भूकम्प पीडित लाभग्राहीसँग अनुदान सम्झौता भएको जानकारी दिँदै प्राधिकरणले त्यसमध्ये ३ लाख ३७ हजार ३ सय १९ घर पुनर्निर्माण सम्पन्न भएको र २ लाख ३३ हजार ३ सय ४३ घर पुनर्निर्माणको क्रममा रहेको जनाएको छ ।

यसैगरी विद्यालय भवनमा पुनर्निर्माण सम्पन्न र निर्माणाधीन गरी ८० प्रतिशत प्रगति हासिल भएको छ । जसमा ५५ प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने २५ प्रतिशत निर्माणाधीन छन् ।

भूकम्पबाट क्षति भएका ७ हजार ५ सय ५३ विद्यालय मध्ये ४ हजार १ सय ७२ विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने १ हजार ९ सय २१ वटा विद्यालय पुनर्निर्माणको क्रममा छन् ।

पुनर्निर्माण सम्पन्न र निर्माणाधीन संरचनाहरुको प्रगति स्वास्थ्य संस्थाहरुमा ६६ प्रतिशत, सरकारी भवनमा ९५ प्रतिशत, सुरक्षा निकायका भवनहरुमा ५४ प्रतिशत, पुरातात्विक सम्पदामा ६८ प्रतिशत हासिल भएको प्राधिकरणले जानकारी दिएको छ ।

‘निजी आवास पुनर्निर्माण कार्य मूलभूत रुपमा यसै आर्थिक वर्षभित्रमा सम्पन्न गर्दैछौं, धेरै संकरचनाहरुको पुनर्निर्माण जारी रहेको छ, योजना अनुसार दुई वर्षमा पुनर्निर्माणका सबै काम सक्ने लक्ष्य अनुसार काम गरिरहेका छौं,’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने ।

प्राधिकरणले शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी एवं सुरक्षा निकायका भवन, पुरातात्त्विक महत्वका सम्पदाहरु, गुम्बा पुनर्निर्माण लगायतका क्षेत्रमा आगामी दुई वर्षको लक्ष्य सार्वजनिक गरेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माण सम्पन्न भएका र पुनर्निर्माण भइरहेका स्थानहरुमा आर्थिक सामाजिक पुनर्स्थापनाका लागि जीवीकोपार्जन लगायतका कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिएर काम गर्ने बताए ।


क्लिकमान्डु