स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न पाएपछि मंसिरमा ५४ अर्बले निक्षेप बढ्यो, कर्जा ३१ अर्बले बढ्यो



काठमाडौं । सरकारले स्थानीय तहमा जाने पैसा वाणिज्य बैंकले निक्षेपमा गणना गर्न पाउने सुविधा दिएपछि मंसिरमा ५४ अर्ब रुपैयाँले निक्षेप बढेको छ ।

२८ वटा वाणिज्य बैंकसँग कात्तिकको अन्तिममा २५ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । मंसिरको अन्तिमा आइपुग्दा निक्षेप २६ खर्ब २० अर्ब पुगेको छ ।

यस्तै कात्तिकको अन्तिममा वाणिज्य बैंकले २२ खर्ब ८३ अर्ब रुपैयाँ कर्जा दिएकोमा मंसिरको अन्तिममा आइपुग्दा कर्जा २३ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ ।

मंसिर लागेपछि बैंकहरु कर्जा प्रवाहमा केही संयम भने देखिएका छन् । यद्यपी मंसिरको अन्तिम सातामात्र ११ अर्ब रुपैयाँले कर्जा गएको छ । मंसिरको तेस्रो साता बैकिङ प्रणालीमा ४२ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो ।

स्थानीय तहमा गएको पैसा निक्षेपमा गणना गर्न पाएपछि एकैपटक बैकिङ प्रणालीमा सो निक्षेप थपिएको हो । जसमा सबैभन्दा बढी निक्षेप राष्ट्रिय वाणिज्य बैंकमा आएको थियो ।

सरकारी बैंकमा वाणिज्य बैंकसँगै नेपाल बैंक र कृषि विकास बैंकमा समेत पैसा थपिएको थियो । निजी लगानीका बैंकमा एनआईसीले मात्र बढी निक्षेप पाएको थियो ।


क्लिकमान्डु