राष्ट्र बैंकको बैठकमा अनिल शाहलाई प्रश्न ब्याजदर किन बढाएको ? भन्छन्ः अरुले घटाए घटाउछु



काठमाडौं । नबिल बैंकले मंगलबार व्यक्तिगत निक्षेपमा १३ प्रतिशत ब्याजदर दिने सूचना निकाल्यो ।

१३ प्रतिशतमा सूचना निकालेपनि नबिलले साढे १३ सम्म ब्याजदर दिन सक्छ् । यस्तै हिमालयन बैंकले पनि १३ प्रतिशतमा नै व्यक्तिगत तर्फको मुद्दती निक्षेपमा ब्याजदर दिने सूचना निकाल्यो ।

नबिल र हिमालयन बैंक वाणिज्य बैंकहरुमा पुराना ठूला बैंकमा गनिन्छन् । यसअघि पछि आएका वाणिज्य बैंकले १३ प्रतिशत ब्याजदरमा मुद्दती निक्षेप दिने योजना ल्याइसकेका छन् ।

ठूला बैंक नै ब्याजदर बढाउने प्रतिस्पर्धामा लागेपछि राष्ट्र बैंकले ब्याजदर बढाएका बैंकका प्रमुख कार्यकारी अधिकृतसँग छलफल गर्यो ।

छलफलमा राष्ट्र बैंकको तर्फबाट नियमन विभागका कार्यकारी निर्देशक नारायण पौडेल र सुपरिवेक्षण विभागका प्रमुख कार्यकारी अधिकृत निर्देशक महेश्वरलाल श्रेष्ठ सहित उच्च अधिकारी थिए ।

छलफलमा राष्ट्र बैंकका नियमन र सुपरिवेक्षण विभागका तर्फबाट पौडेल र श्रेष्ठले एकै खालको प्रश्न नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहलाई प्रश्न सोधे,‘ठूलो बैंकको रुपमा नबिलले यसरी किन ब्याजदर बढाएको ?’

त्यसको जवाफमा शाहले अरुले ब्याजदर बढाएपनि निक्षेप बचाउनको लागि ब्याजदर बढाउनु परेको जवाफ दिए । उनले भने,‘अरुले ब्याजदर घटाएमा नबिलको पनि ब्याजदर घट्छ,’ ।

छलफलमा राष्ट्र बैंकका अधिकारीले ब्याजदर बृद्धिमा संयमित हुन बैंकरलाई आग्रह गरेका थिए । राष्ट्र बैंकको तर्फबाट बैठकमा सहभागीले सरकारले गठन गरेको कार्यदलले सुझाव दिने र त्यसबाट निकास निस्कने विश्वास जगाएका थिए ।


क्लिकमान्डु