अमेरिकी उर्जा क्षेत्रमा कतारले २० अर्ब डलर खर्चिने
दोहा, कतार । खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।
दोहामा भएको दुई दिन लामो दोहा फोरम-२०१८ मा बोल्दै उर्जा राज्यमन्त्री तथा ‘कतार पेट्रोलियम’ का कार्यकारी प्रमुख साद अल–कावीले सम्मेलनलाई सम्बोधन गर्दै कतारले अमेरिकी तेल, ग्यास तथा परम्परागतभन्दा फरक किसिमका क्षेत्रमा लगानी गर्न खोजिरहेको बताए ।
कतारले आगामी पाँच बर्षमा संयुक्त राज्य अमेरिकाको उत्तरी क्षेत्रमा २० अर्ब डलर लगानी गर्नेछ, उनले बताए । उनले भने, “यो योजनामार्फत् कतारको मुख्य लक्ष्य अर्बौं डलरको गोल्डेन पास एलएनजीको अन्तिम स्टेसन टेक्सासमा लगानी गरी पूरानो कार्यक्रमलाई पुनः सञ्चालनमा ल्याउने रहेको छ ।”
कतार पेट्रोलियमले एक्जेम मोविल र कोनोको फिलिप्ससँग मिलेर उक्त योजनामा ७० प्रतिशत लगानी गर्नेछ भने बाँकी ३० प्रतिशत यि दुई फर्मको रहनेछ ।
कतारले आगामी पाँच बर्षमा आफ्नो ग्यास उत्पादन क्षमतामा बार्षिक एक करोड ६० लाख टन वृद्धि गर्ने र सन् २०२३ सम्ममा उत्पादनलाई बार्षिक एक अर्ब १० करोड टन पुर्याउने लक्ष्य लिएको छ ।
कतारले यर्स महिनादेखि साउदी अरबको प्रभाब रहेको तेल निर्यातकर्ता मुलुकहरूको संगठन (ओपेक)बाट अलग्गिने घोषणा गरेको थियो । काबीले उक्त निर्णय कुनै राजनीतिक उद्देश्यबाट अभिप्रेरित भएर नगरिएको बताए । रासस\एएफपी